बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने शेखर कोइराला र गगन थापाको धारणा

बालकृष्ण खाँणलाई निलम्बन नगरिए कांगेसको अवस्था नाजुक हुन्छ : शेखर कोइराला

काठमाडौं- नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि भइरहेको छानबिन कमजोर बनाउने प्रयास भइरहेको बताएका छन् । बुधबार राजधानीमा आयोजित विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यो प्रकरण अन्तर्राष्ट्रिय भएकाले ढाकछोप गरिए मुलुकलाई घात हुने बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिसकेकाले बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने बताए । खाँण हाल प्रहरी हिरासतमा छन् ।

उनले भने,’यसलाई ढाकछोप गर्न खोजियो भने कांग्रेसको अवस्था के हुन्छ भन्ने म भन्न सक्दैनँ । कांग्रेसकै मात्रै नभएर देशको अवस्था नाजुक भएर जान्छ । यो मुद्दा नेपालभित्र मात्रै सीमित छैन। यो अन्तराष्ट्रियकरण भइसकेको छ । नेपालका प्रहरीले जुन तागत पाइसकेका छन् त्यो त्यसै आएको होइन भन्ने पनि बुझौं ।’

‘भ्रष्टाचारको यो जालोले भोलि क-कसलाई हान्छ त्यो आफ्नो ठाउँमा छ । यो मुद्दालाई अलिकति कमजोर बनाएर अरू मुद्दाहरू ल्याइएला कि भन्ने चिन्ता लागेको छ । त्यतातिर पनि ध्यान दिन जरूरी छ,’उनले भने,’ यो मुद्दा नेपालको सार्वभौमिकतामाथि नै प्रहार भइरहेको छ । देशका नागरिकहरूलाई अनागरिक बनाएर मानव बेखविखन गर्नेभन्दा लज्जास्पद केही हुन सक्दैन ।’ उनले नक्कली भुटानी शरणार्थी प्रकरणले देशकै शीर निहुरिएको र राष्ट्रघाती काम भएको भन्दै घटनाका दोषीलाई कुनै पनि हालतमा छोड्न नहुने बताए ।

बालकृष्ण खाँण निलम्बनमा नपरेपछि गगनले देउवालाई भने- गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्न सकिदैन

त्यस्तै नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित प्रजातान्त्रिक विचार समाजको महाधिवेशनमा बोल्दै नेता थापाले यो प्रकरण राष्ट्रदोह भन्दै दोषीलाई कडा कारबाही हुनुपर्ने बताए । नेता थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना पार्टीका नेता बालकृष्ण खाँण पक्राउ परेपनि सभापति शेरबहादुर देउवाले निलम्बन नगरेको भन्दै आपत्ती जनाए। पार्टीको बैठकमा खाँणलाई निलम्बन गर्न माग गर्दा समेत सभापति देउवाले नमानेको उनको भनाइ छ ।

उनले भने,’नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता मुछिनु भएको छ । विधिको शासन भएको ठाउँमा कानुनी प्रक्रियाको पालना सबैले गर्नुपर्छ। अनुसन्धानबाट यदि दोषी भएमा दोषीले सजाय पाउनुपर्छ । जो जो मुछिन्छन् सबैलाई कारबाही हुनुपर्छ । यसमा दायाँबायाँ हुनुहुँदैन ।’ उनले कुनै पदमा बसेको मान्छे, प्रहरी, अदालत, निजामति कर्मचारी कहिँ पनि अभियोग लागेपछि स्वत : निलम्बन हुने भएकाले पार्टीले पनि खाँणलाई निलम्बन गर्नुपर्ने बताए । पार्टीमा दाग लागे त्यसलाई निकालेर बाँकी रहेकालाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

‘प्रमाणित भयो भने कारबाही हुन्छ । कोहीप्रतिको पूर्वाग्रही भएर होइन । मलाई भएपनि अर्कोलाई भएपनि त्यही हो । पार्टीको छलफलमा केही साथीहरूले लिनुभएको पोजिसन के छ भन्ने हाम्रो भित्र त परम्परा छैन । परम्परा छैन भने त्यो तोड्नुपर्छ । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन ।’