न्याय माग्दै बिनु यादब, माइतीघरमा अनसन बसेको ७ दिन भयो

काठमाडौँ — काठमाडौंको व्यस्त माइतीघर चोकमा धूलो, धूवाँ फाल्दै सवारीसाधनहरू गुडिरहन्छन् । रूखको मुनि म्याट्रेस, गलैंचा, डसना ओछ्याएका छन् । रूखबाट सकेका पातपतिंगर, किरा, झुसिलकिरा खसिरहन्छन् ।

जबर्जस्ती सम्बन्धविच्छेद गराएको फैसलाविरुद्ध न्यायको माग गर्दै संघर्षरत बिनु यादवले यही ठाउँमा आमरण अनशन थालेको सातौं दिन पूरा भइसकेको छ । बिनु चोकनेरैको सडकछेउमा अनशनरत छिन् । उनलाई साथ दिन अधिकारकर्मी, अभियन्ताहरू आउँछन् । ‘पीडितले न्याय पाउनैपर्छ,’ ‘यी सत्याग्रहीका मागप्रति पूर्ण समर्थन जनाउँछौं,’ लगायतका ऐक्यबद्धता लेखेर जान्छन् । कसैले गितार बजाउँदै गीत गाएर साथ दिन्छन् । सामाजिक सञ्जालमा साथ दिइरहेका छन् । दिनभर कोही न कोही ऐक्यबद्धताका लागि आइदिए पनि रात छिप्पिँदै गएपछि चहलपहल घट्छ । राति सुत्ने बेला एक जना साथी हुन्छिन् । सुरक्षाकर्मीले पहरा दिन्छन् । राति बाइकहरू हुइँकिएर आउँछन्, अनियन्त्रित भएर आफैंलाई किच्न आइदेलान् जसरी । लामखुट्टेले टोकेर हैरान पार्छन् । धूलो, धूवाँ अनि टन्टलापुर घाम र हावाहुरीसहितको वर्षात खेपेरै भए पनि उनी न्यायका लागि अनशनमा छिन् ।

रामेछापका प्रदीप कठायतविरुद्ध बलात्कारको हदम्याद कटाउन विवाहको षड्यन्त्र गरेर बेवारिसे बनाएपछि इच्छाविपरीत ०७९ वैशाख ७ मा जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले सम्बन्धविच्छेद गराएको भन्दै बिनुले असार १६ मा उच्च अदालत पाटनमा पुनरावेदन गरेकी थिइन् । उच्च अदालतले पेसी सारेको सार्‍यै छ । विवाह गरी रामेछाप लगेपछि बलात्कार प्रयास गर्ने काका ससुरा पवन कठायतविरुद्ध गत साउन १५ मा उजुरी दिएकी थिइन् । पवन कठायत छुटिसकेका छन् । उनले न्यायको मागसहित राष्ट्रिय मानवअधिकार आयोगमा समेत मौखिक र लिखित जानकारी दिइन् । त्यस्तै प्रदीपका मामा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले भान्जाविरुद्ध बलात्कारको जाहेरी फिर्ता लिन दबाब दिएको बिनुको आरोप छ । ‘आयोगले मलाई बलात्कार भएको मेडिकल रिपोर्ट, बलात्कारविरुद्ध मैले ०७५ सालमा कालीमाटी प्रहरीमा उजुरी दिएकी थिएँ । तर हराएको भनिएको त्यो जाहेरी र बलात्कार मुद्दा फिर्ता गर्न दबाब दिएर गराएको मिलापत्र संकलन गरिसकेको छ तर संवेदनशील भएर अनुसन्धान अघि बढाएन,’ उनले भनिन् । आफूमाथि अन्याय गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरू, न्यायाधीशविरुद्ध अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग गर्दै आएकी उनले वैशाख २७ देखि सर्वोच्च अदालतको गेटबाट अनशन थालेकी थिइन् । प्रहरीले पक्राउ गरेर अनशन बस्न दिएन । सोही दिनको राति ९ बजे छुटेपछि वसन्तपुरमा बसेर अनशन निरन्तरता दिइन् । दोस्रो दिन माइतीघरमा आएर अनशन बसिन् । काठमाडौं महानगरको नगर प्रहरीले बस्न नदिएपछि त्यस रात वसन्तपुर बसिन् । त्यसपछि माइतीघरमै अनशनरत छिन् ।

‘प्रदीप कठायतलाई कारागारमा हाल्नुपर्‍यो, सुरज कार्कीलाई डीएसपीबाट निलम्बित गरेर अनुसन्धानमा तान्नुपर्‍यो अनि बल्ल अनशन तोड्छु, नत्र मरिगए तोड्दिनँ,’ उनले भनिन्, ‘पहिले पनि धेरै आश्वासन पाइसकेको हो, सडक आन्दोलनदेखि धेरै संघर्ष गरेको हो, न्याय पाइनँ तर हरेस खान्नँ ।’ अनशन बसिरहेकै बेला उनी महिनावारी पनि भएकी छन् । महिनावारीका बेला उनको धेरै रगत बग्छ, प्याड फेरिरहनुपर्छ । उनीसँग प्याड किन्ने खर्च छैन, सहयोगी मन भएकाले ल्याइदिन्छन् । नजिकैको रेस्टुरेन्टवालाले शौचालय जान दिन्छन् । पानी परेका बेला रेस्टुरेन्टको पर्खालतिर ओत लाग्छन् । उनले अनशन थालेदेखि नै खाना, पानी खाएकी छैनन् । उनको स्वास्थ्य स्थिति कमजोर बन्दै गएपछि अनशनको चौथो दिनदेखि डाक्टर अजित मल्लिकले स्लाइन पानी दिएका छन् । अनशन स्थल अगाडि ‘डोनेसन बक्स’ मा उनको सहयोगार्थ रु. १०, २०, ५०, १०० चन्दा दिएर जान्छन् । बिनु भन्छिन्, ‘यसैले उनमा एलर्जी भइरहेको छ, प्रहरीले पाल टाँग्न पनि दिएको छैन, खुला आकाशमुनि रात कटाउँदै छु ।’ उनकी ६२ वर्षीया सानीआमाले रेखदेख गरिरहेकी छन् । ‘मर्न लागिसकिस् होला भनेर फोनमा रोइरहनुभएको थियो, मैले न्यायका लागि लडिरहेको विषयमा परिवारको समर्थन भएर पनि अस्वस्थताले गर्दा यहाँ हुनुहुन्न,’ बिनुले भनिन् । आफूलाई न्याय दिलाउन भौतिक रूपमा उपस्थिति हुन सक्नेले माइतीघर पुगेरै, नसक्नेले सामाजिक सञ्जालबाटै भए पनि ऐक्यबद्धता जनाएर दबाब सिर्जना गर्न सघाउ पुर्‍याउन माग गरेकी छन् ।

अनशनको पाँचौं दिन गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत र काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनशनको स्थलगत अध्ययन गरे । छैटौं दिन अनशनरत पक्ष र गृहमन्त्री, गृह मन्त्रालयका प्रवक्ता, कानुनविद्लगायतको टोलीले गृह मन्त्रालयमा वार्ता गरे । ‘छानबिन समिति बनाइदिन्छम्, त्यसैले अनुसन्धान गर्छ, मुद्दा फास्ट ट्र्याकबाट अघि बढ्छ, अहिलेलाई अनशन बस्न छोड्नु भन्नुभयो,’ बिनुको अनशनमा साथ दिँदै आएकी जस्मिन ओझाले भनिन्, ‘गृहबाट आज पनि (सातौं दिन) फोन गरेर सोध्दै हुनुहुन्थ्यो, बिनुजीले आश्वासनकै भरमा नतोड्ने भन्नुभएको छ ।’ लेखक अर्चना थापाले महिला अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्था, मानवअधिकार आयोगलगायत निकायहरूले पीडितको न्यायिक प्रक्रियामा साथ दिनुपर्ने बताइन् । ‘उहाँले जुन मागहरू राख्नुभएको छ, कहीँकतै पनि सुनुवाइ नभएर नै आमरण अनशन बस्नुभएको होला, सातौं दिन भइसक्यो,’ उनले भनिन्, ‘म बेलाबेला पुगिरहेको हुन्छु, प्रायः एक्लै भेटिनु हुन्छ, राति–राति हावाहुरी, पानी आइरहन्छ, कसरी बस्नुभएको होला । उहाँको न्यायिक यात्रा कति कठिन छ, संघसंस्था, मानवअधिकार आयोगलगायत निकायले उहाँसँग व्यक्तिगत भेटेर न्यायिक प्रक्रियामा मद्दत गर्न ढिला गर्नु हुँदैन ।’

राष्ट्रिय मानवअधिकार आयोगका कामु सचिव मुरारीप्रसाद खरेलले पीडितले अनशन बसेदेखि नै भेटघाट गर्ने, अनुसन्धान गर्ने र न्यायिक निकायहरूसँग समन्वय गराउने काम गरिरहेको बताए । ‘उहाँले निवेदनमा दिनुभएको सम्बन्धित प्रहरी अधिकृतलाई झिकाउन पत्र काटिसकेका छौं । उहाँका पनि कुरा सुन्छौं र पीडितले भन्नुभएजस्तै अन्याय भएको रहेछ भने सोहीअनुसार अनुसन्धान अघि बढ्छ । हामीले केसलाई हेरिरहेका छौं,’ उनले भने ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले बिनुलाई छैटौं दिन अनशन स्थलमा भेटेर न्यायका लागि सहकार्य गरिदिने आश्वासन दिलाइन् । ‘बिनुले प्रदीप कठायत र सम्बन्धित प्रहरीलाई कारबाही गर्नुपर्ने अनि जबर्जस्ती गराइएको सम्बन्धविच्छेदलाई मुख्य गरी उठाउनुभएको रहेछ, म पनि गएर भेटें,’ अध्यक्ष पराजुलीले भनिन्, ‘म गएका बेला गृह मन्त्रालयले वार्ताको प्रयास गर्दै छ भन्ने थाहा पाएँ, महिला आयोगले अब्जरभेसन गर्दै छौं । न्यायिक प्रक्रियामा गृह मन्त्रालय, न्यायालयमा लबिइङ गरिदिन, सिफारिस गरिदिन सक्छौं ।’

स्रोत- कान्तिपुर