सिम्रिककै हेलिकोप्टरबाट दुर्घटनाका घाइतेलाई काठमाडौं ल्याइयो

संखुवासभाको भोटखोला–४ मा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाकाा घाइतेहरुलाई शुक्रबार नै काठमाडौं ल्याइएको छ । घाइते भएकामध्ये एक जनाको भने संखुवासभामै ज्यान गएको छ । दुर्घटनाका घाइते भविन गुरुङको मृत्यु भएको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले बताए ।

उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएपछि तुम्लिङटार विमानस्थल लगिएको थियो। तुम्लिङटारबट शव पोस्टमार्टमका लागि खाँदबारी अस्पताल लगिएको छ । अप्पर अरुण हाइड्रो पावरको सामन लाने क्रममा उक्त हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेहरु पाइलट सुरेन्द्र पौडेल, अरुण हाइड्रोका कर्मचारी मनोज थापा र चालक दलका सदस्य छिरिङ भोटेलाई सिम्रिककै हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

हेलिकोप्टरबाट हामफालेर बाँचेका विक्रम शंकर भने सामान्य घाइते छन् । उनको खाँदबारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।