पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी
काठमाडौँ — तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो । बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो। तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ । पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ ।
एमाले सचिव तथा अर्घाखाँचीका सांसद रायमाझीले यसअघि नै कान्तिपुरसँगको कुराकानीमा दुलाल, भण्डारी, पोखरेलसँग निकटकै सम्बन्ध रहेको र उनीहरूको योजनामा ‘अन्जानवश’ सहयोग गरेको प्रस्टीकरण दिएका थिए। ‘म नेपालको शान्ति प्रक्रियामा संलग्न रहेको पात्र हुँ, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग बाक्लो भेटघाट हुने क्रममा नेतृ सुजाता कोइरालासँग पनि भेट हुन्थ्यो,’ उनले भनेका थिए, ‘सुजाताजीका सहयोगी रहेका केशव दुलालसँग चिनजान भएपछि निकटको सम्पर्क र भेटघाट हुन थालेको हो । यही क्रममा उहाँहरूलाई सहयोग गरेको हुँ ।’
२०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गर्दा रायमाझी ऊर्जामन्त्री भएका थिए ।
नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ
काठमाडौँ — उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनलाई केहीबेर अघि पक्राउ गरेको हो । अहिले पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । प्रहरीले बुधबार उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।
मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बसेका थिए । भक्तपुर आसपासको जंगलमा आफू रहेको प्रहरीले सुइँको पाएको थाहा भएपछि उनी त्यहाँबाट हिँडेका थिए । त्यही क्रममा उनी जडिबुटीबाट पक्राउ परेका हुन् । उनी २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत थिए । उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष उनी गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए । उच्च स्रोतका अनुसार गिरोहसँग रकम लेनदेनमा उनीसमेत मुछिएका छन् ।
हिरासतमा रहेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेलको बयानका आधारमा इन्द्रजितलाई पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । गिरोहका नाइकेहरू विरुद्ध प्रहरीले संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धान गरिरहेको छ । इन्द्रजित राईका छोरा नीरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनी भने नेपालबाहिर गएको आशंका छ । गिरोहका नाइकेको बयानअनुसार राईका बाबुछोराले २०७६ असारदेखि चैतसम्म साढे ५ करोड लिएका थिए ।