प्रधानमन्त्रीले गरे नवौं पटक मन्त्रिपरिषद् विस्तार, कांग्रेसको तर्फबाट थप तीन मन्त्री नियुक्त

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम बुधबार तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेका हुन् । नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले गुरुङ, बस्नेत र लिम्बूलाई मन्त्री नियुक्त गरी कार्यभार तोकेको जानकारी दिए । सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेका ८ मन्त्रालयमध्ये बाँकी रहेका तीनवटा मन्त्रालयमा मन्त्री नियुक्त भएका हुन् । कांग्रेसबाट यसअघि पुर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशसरण महत अर्थ, रमेश रिजाल उद्योग बाणिज्य तथा आपुर्ति, एनपी साउद परराष्ट्र र सीता गुरुङ शहरी विकास मन्त्री नियुक्त भइसकेका छन् ।

मन्त्री नियुक्त भएका गुरुङ र लिम्बू कोइराला समूहका नेता हुन् भने बस्नेत संस्थापन पक्षका नेता हुन् । यसअघि गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएपछि नेता कोइराला समूहले त्यसमध्ये तीन मन्त्री पाउनुपर्ने दाबी गर्दा मन्त्रिपरिषद् विस्तार रोकिएको थियो । पहिलो चरणमा चारै जना सभापति शेरबहादुर देउवा पक्षबाट मन्त्री बनेका थिए । पछि देउवानिकट एनपी साउद परराष्ट्रमन्त्री भए । तर ढिला गरी मन्त्रिपरिषद् विस्तार गराएपनि देउवाले ८ मध्ये ६ मन्त्री आफ्नो समूहबाट बनाएर कोइराला पक्षलाई दुई वटा मन्त्रालयमै सीमित गरेका छन् ।

राष्ट्रपति कार्यालयकाअनुसार मन्त्रीहरुको सपथ बिहीबार दिउँसो तीन बजे हुनेछ ।

शेखर-गगन समूहको माग पूरा भएन, आठमध्ये ६ मन्त्री देउवा निकटकै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट ८ जना मन्त्री बनेका छन् । सत्ता गठबन्धन दलबीचको सहमतिअनुसार कांग्रेसबाट प्रचण्ड सरकारमा आठ मन्त्री बनेका हुन् । प्रधानमन्त्रीले कांग्रेसको तर्फबाट आज धनराज गुरुङलाई कानून, मोहन बस्नेतलाई स्वास्थ्य र डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेसँगै आठ मन्त्री पुगेको हो । उपसभापति पूर्णबहादुर खड्काले उपप्रधान तथा रक्षा मन्त्री बनेर सरकारमा कांग्रेसको नेतृत्व गरेका छन् ।

इतर समूहले तीन मन्त्री नपाए सरकारमा नजाने अडान राखेपछि कांग्रेसबाट मन्त्री पठाउँन ढिलाई भएको थियो। शेखर कोइराला र गगन थापा समूहले तीन मन्त्रालय नपाएर सरकारमा नजाने अडान लिएपछि देउवाले पार्टीभित्रै व्यवस्थापनमा समस्या परेको थियो । तर, कांग्रेसबाट आज मन्त्री बनेका गुरुङ र लिम्बू शेखर–गगन समूहका हुन् भने बस्नेत सभापति शेरबहादुर देउवा निकटका हुन् । कांग्रेसले पाएको ८ मन्त्रालयमा यसअघि नै देउवाले आफू निकटका ५ जनालाई मन्त्री बनाइसकेका छन् ।

उपप्रधानन्त्री खड्कासहित अर्थ मन्त्री प्रकाशशरण महत, परराष्ट्रमा एनपी साउद, उद्योगमा रमेश रिजाल, सिता गुरुङ सहरी विकास बनेका थिए । योसँगै देउवाले आफू निकटका ६ जना मन्त्री बनाउँदा इतर समूहलाई दुई मन्त्रालय मात्रै दिएका छन् ।

यस्तै, दुई मन्त्रालय भागमा परेको जसपाले शिक्षा मन्त्रालयमा अशोक राईलाई पठाएपनि वन तथा वातावरण अझै खाली छ । जनमतका अब्दुल खानले राजीनामा दिएपछि खानेपानी मन्त्रालय पनि प्रधानमन्त्रीको काँधमा छ। नवौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिन सकेनन् ।