रास्वपा संसदीय दलका नेताबाट डिपी अर्यालले दिए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेताबाट उपसभापति डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।

आज संसदीय दलको भर्चुअल बैठक बसेर अर्यालले राजीनामा बुझाएको स्रोतले जानकारी दियो। राजीनामा बुझाएसँगै स्वीकृत गर्ने प्रक्रियामा छ । अहिले उपनेता श्रेष्ठले उक्त जिम्मेवारी सम्हालेका छन् ।

यस्तै, पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता बन्दैछन्। स‌ंसदीय दलको बैठक सोमबार बस्ने तयारी छ। बैठकले लामिछानेलाई दलको नेता चयन गर्नेछ ।

चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा निर्वाचित भएका रवि लामिछानेले शुक्रबार शपथ लिएका थिए। शपथ लिएसँगै शुक्रबार नै उनी प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए ।