राष्ट्रपतिको स्वास्थ्यमा राम्रो सुधार : आइतबार डिस्चार्जको सम्भावना

नयाँ दिल्ली । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएको छ । भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उहाँको उपचार भइराखेको छ । दिल्लीस्थित नेपाली राजदूतावासले शनिबार विज्ञप्ति सार्वजनिक गर्दै उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकाले भोलि डिस्चार्ज हुने सम्भावना रहेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरुले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन् ।’’

स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति पौडेल वैशाख ६ गते उपचारका लागि भारतको नयाँ दिल्ली जानुभएको हो। यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।

बिरामी कुरुवालाई पनि डलरमा भत्ता दिएको भनी अलोचना

राष्ट्रपति पौडेलको उपचार देशमै सम्भव हुँदाहुँदै भारतमा लगेकोमा आलोचना छँदैछ । त्योभन्दा अर्को रोचक आलोचना चैं पौडेलसँग पुगेका बिरामी कुरुवाले पनि राज्य स्रोतबाट डलरमा भत्ता लिने प्रावधानमा रहेको छ । देशसञ्चार अनलाइनले यसबारेमा विभिन्न समाचारहरु बनाएको छ । बिरामी कुरुवाले २५० अमेरिकी डलर दैनिक भत्ता पाउने गरेका छन् । २५० अमेरिकी डलर भनेको अहिलेको एक डलरको १३० रुपैयाँको सटहीदरअनुसार ३२ हजार ५०० रुपैयाँ हुन आउँछ । यो रकम नेपालमा धेरै इलमीहरुले मासिक पाउने तलबभन्दा धेरै हो । यसले थप आक्रोश बढाएको छ ।

यसबारेमा पत्रकार तथा लेखक मनोज दाहालले गरेको टिप्पणी सान्दर्भिक छ । उनले बुधबार लेखेका छन्, ‘राष्ट्रपति उपचार गर्न विदेश जाँदा खर्च सरकारले व्यहोर्नुसम्म त ठीकै होला । तर, भ्रमणदलका सबै सदस्य (परिवारका सदस्य र बिरामी आफैंसहित)लाई २५० अमेरिकी डलरसम्मको दैनिक भत्ता त राज्यकोषमाथि सरासर लुट हो यार !’

दाहालले उठाएको यो मुद्दालाई गत १३ गते राष्ट्रपतिका सल्लाहकारले सार्वजनिक गरेको प्रेस विज्ञप्तिले भने ऐन–कानूनमै आधार भएको भनेर सदर गरेको छ । किरण पोखरेलले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ मा विदेश भ्रमण र उपचारका लागि विदेश जाने विषयलाई अलग अलग व्यवस्था गरिएको प्रस्ट छ ।’

बेलाबेला राष्ट्रपतिले प्रोटोकलको व्यवधान हटाएर जनतासँग जोडिएको व्याख्या गर्ने सचिवालयले डलरमा लिएको बिरामी कुरुवाहरुको भत्तालाई भने ऐन-कानून जस्ता प्रोटोकलै टेकेर प्रतिरक्षा गर्ने अवस्था आएको छ । यो अलोकप्रिय प्रतिरक्षाको उदाहरणले त राष्ट्रपति पौडेलको सादगी चित्रमा सबैभन्दा ठूलो दाग लागेको छ ।