रास्वपाले सांसद श्रेष्ठले दुई करोड मागेको विषय प्रतिनिधिसभालाई जानकारी गराउँदै माफी मागे

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग टेलिफोनबाट दुई करोड रुपैयाँ मागेको विषय संसद्‌लाई जानकारी गराएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यो विषयमा पार्टीले गम्भीर रुपमा लिएको र छानबिन भइरहेको बताएका छन् । उनले श्रेष्ठलाई स्पष्टीकरण सोधिएको उल्लेख गरे । प्रमुख सचेतक परियारले यो घटनाबाट संसद्को गरिमामा परेको आँचप्रति क्षमा मागेका छन् । उनले विगतमा भएका यस्ता घटनाहरु पनि छानबिनको दायरामा आउनुपर्ने बताए ।

संसदमा माफी माग्दै रास्वपाले भन्यो– विगतका यस्तै अरू घटनाको पनि छानबिन हुनुपर्छ

त्यस्तै सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सो पार्टीका सांसद सन्तोष परियारले पार्टीले उक्त टेलिफोन संवादलाई गम्भीर रूपमा लिएको बताए । श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साढे दुई करोड रुपैयाँ मागेको विवादास्पद टेलिफोन संवाद आइतबार सार्वजनिक भएको थियो ।

‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत घटेको घटनाले तपाईंहरूको सम्मानमा परेको चोटप्रति हामी क्षमा चाहन्छौँ । संसद्को गरिमा बढाउने राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानमा हामी अक्षुण्ण रहनेछौँ । यो घटनाले हामीलाई कतै पनि विचलित गर्नेछैन भन्ने यहाँहरूलाई जानकारी गराउन चाहन्छु,’ सांसद परियारले भने ।

यद्यपि, उक्त घटना नेपाली राजनीतिमा पहिलो नभएको भन्दै परियारले विगतका घटनाहरूको पनि छानबिन गर्नुपर्ने धारणा राखे । उनले भने, ‘नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता घटना विगतमा पनि भएका छन् । तर, ती सबैको सत्यतथ्य छानबिन हुन सक्यो भने लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता अझ प्रतिबद्ध हुन्छ भन्ने हामीलाई लाग्छ।’