देशभरका हजार बढी मिटरब्याज पीडित काठमाडौँमा, सिंहदरबार घेर्दै
काठमाडौँ — सरकारले पहिले गरेका सम्झौता पालना नगरेको र नयाँ सहमति पनि फितलो भएको भन्दै मिटरब्याज पीडितहरू आन्दोलित भएका छन् । ११ दिनको पैदलयात्रापछि गत साता बर्दिबासबाट हिँडेर काठमाडौं आएका पीडितहरूसँग सरकारले गरेको सहमति पनि फितलो भएको भन्दै दबाब दिन मधेसका विभिन्न २० जिल्लाका पीडितहरू सोमबार काठमाडौं आइपुगेका हुन् ।
एक हजारभन्दा धेरै पीडितहरू आइतबार राति नै बसबाट काठमाडौंका लागि प्रस्थान गरेका थिए । सरकारले आफ्ना माग पूरा नगरेसम्म घर नफर्किने भन्दै उनीहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । मिटरब्याज पीडितहरूले सोमबार दिउँसो भद्रकालीमा पुगेर प्रदर्शन गरेका छन् । र्यालीको क्रममा कतिपय किसानहरूले हलो लगायत कृषि सामग्रीहरू बोकेर प्रदर्शन गरिरहेका छन् । यस क्रममा उनीहरूले ‘जाली तमसुक खारेज गर,’ ‘सबै सुदखोरहरूको सम्पत्ति छानबिन गर’, ‘किसानको भूमि फिर्ता गर’ लगायतका नारा लगाएका छन् ।
उनीहरुले पटक-पटक मिटरब्याज पीडतहरूसँग सम्झौता गरेर कार्यान्वन नगरेर ठगेको भन्दै सरकारलाई खबरदारी गर्न उनीहरू माइतीघरबाट सिंहदबार घेरा गर्न अघि बढेका छन् । शनिबार सरकारले मिटरब्याज पीडत संघर्ष समितसँग पाँच बुँदे सहमति गरेको थियो । आन्दोलनमा उत्रिएका मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलन थालेका हुन् ।
सरकार आयोग गठन गर्ने भनिए पनि कानुन अभावमा त्यसले काम गर्न नसक्ले पीडतहरूले जनाएको छ । बैशाख र साउनमा ६१ दिनसम्म नवलपरासीसहितका पीडितहरू माइतीघर मण्डलामा धर्ना बसेका थिए । त्यसपछि सरकारले र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच असोज १ गते पाँच बुदे सहमति गरेको थियो ।
त्यो सहमति कार्यान्वन नगरेर फेरि अर्को पीडितहरूको संघर्ष समितिसँग सम्झौता गरेर सरकारले पीडितलाई ठग्ने काम गरेको उनीहरूको आरोप छ। शनिबार सरकारले गरेको सहमति फिर्ता लिएर सरकारले पुरानै सम्झौता कार्यान्वन गर्नुपर्ने उनीहरूका माग छ ।