पांग्रा सापटी मागेर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २६ घन्टापछि काठमाडौं फर्कियो

काठमाडौँ — पांग्रा पन्चर भएर बिहीबार दिउँसोदेखि दिल्लीमा ग्राउडेड भएको नेपाल वायुसेवा निगमको वाइडबडी विमान २६ घन्टापछि शुक्रबार दिउँसो पौने ५ बजे काठमाडौं आइपुगेको छ । दिल्लीस्थित कतार एयरवेजले आफ्ना विमानका लागि राखेका जगेडामध्येबाट निगमलाई एक दिनका लागि दुइटा पांग्रा लोन (सापटी)मा दिएपछि निगमको नाईन एन–अल्फा लिमा जुलु रजिष्ट्रेशन नम्बर भएको वाइडबडी काठमाडौं फर्किएको निगमका सहप्रवक्ता गणेश घिमिरेले बताए ।
वाइडबडीको बायाँतर्फको मेन ल्यान्डिङ गियरका चारवटा पांग्राको संयुक्त व्हिल–एसेम्ब्लीमा पन्चर भएका दुइटा पांग्रा कतार एयरवेजसँग दैनिक भाडा तिर्ने सर्तमा सापटी मागिएको हो । मागेका पांग्रा शुक्रबारै काठमाडौंमा फेरेर शनिबार निगमको दिल्ली उडानमा कतार एयरवेजलाई फर्काइने निगमका एक प्राविधिकले बताए ।

आरए२१८डी उडान नम्बरमा काठमाडौं फर्किएको निगमको वाइडबडीमा बिहीबार २ सय ५१ यात्रु काठमाडौं आउँदै थिए । राति अबेरसम्म पांग्रा फेर्न नसकिएपछि ती यात्रुलाई निगमकै खर्चमा दिल्लीमा होटलमा राखिएको थियो । ‘होटलमा बस्नेलाई होटलमा, नजिकै घर भएकालाई ट्याक्सी खर्च दिएर पठाइन्छ । कति होटलमा बसेका थिए । कति घर गएर आज फर्के एकिन संख्या दिल्ली स्टेशनले पठाइसकेको छैन । पांग्राको दैनिक भाडादरको हिसाब पनि निगमको प्रधान कार्यालयमा आइसकेको छैन,’ सहप्रवक्ता घिमिरेले भने, ‘शुक्रबार जम्मा २ सय ३० जना यात्रु बोकेर जहाज फर्कियो ।’

एउटा पांग्रा पन्चर हुँदा यसअघि कार्तिकमा निगमको न्यारोबडी पश्चिम अफ्रिकाको मालीमा ९ दिनसम्म ग्राउडेड भएको थियो भने यसअघि पांग्रा अभावले दिल्लीका दुइटा उडान प्रभावित भएका थिए । बिहीबारको दिल्ली घटनापछि पर्यटन सचिव सुरेश अधिकारीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बारम्बर पांग्रा अभावले निगमका जहाज ग्राउडेड हुनुले मुलुककै प्रतिष्ठामा असर परेको भनी सचेत गराएको बताए । उनले अन्य वायुसेवाले जस्तै अन्तर्राष्ट्रिय गन्तव्य सहरमा न्यूनतम स्पेयर पार्टसको प्रबन्ध निगमले मिलाउनु पर्ने बताए ।

यता निगमले भने प्रत्येक स्टेशनमा एक सेट न्यरोबडीको र अर्को सेट वाइडबडीको पांग्रा जगेडा राख्दा न्यूनतम ४०–५० लाख आर्थिक दायित्व थपिने भएकाले काठमाडौं बाहिरका १० वटा स्टेशनमा पांग्रा राख्न नसकिएको जनाएको छ । ‘यसबारे कार्यदल गठन भएको छ । चाँडै कार्यकारी अध्यक्षले केही निर्णय गर्लान कि ?,’ कार्यदलसँग जोडिएका एक कर्मचारीले भने ।

यता काठमाडौंमा उडान गर्ने २४ बढी विदेशी वायुसेवाले जगेडा पार्टपुर्जा र टायर राखेका छन् । अधिकांशले निगमको ह्यांगरमा आफ्ना टायरलगायतका पार्टपुर्जा राखेको एक पाइलटले बताए ।

टायर पन्चर भएपछि मालीमा रोकिएको निगमको जहाज नवौं दिनमा नेपाल फर्कियो

यसअघि एउटा पाङग्रा पन्चर भएर पश्चिम अफ्रिकाको मालीमा अड्किएको नेपाल वायुसेवा निगमको न्यरोबडी विमान नवौं दिनमा काठमाडौं फर्किएको छ । निगमको इन्जिनियरीङ विभागका अनुसार नेपाली नाम सगरमाथा भएको अल्फा किलो व्हिस्की कलसाइन भएको न्यरोबडी बिहीबार दिउँसो काठमाडौं फर्किएको हो । यो जहाज नौ दिनअघि ७५ जनाको शान्ति सेना फौज बोकेर काठमाडौंबाट दोहा हुँदै पश्चिम अफ्रिकाको मालीस्थित द्धन्द्वग्रस्त क्षेत्र गाओ पुगेको थियो ।

गाओ विमानस्थलमा अवतरण भएपछि इन्जिनियरले निरीक्षण गर्दा पछाडिको एउटा ल्याण्डिङ गियरको पाङग्रा पन्चार भएको पाइएको थियो ।

उक्त क्षेत्रमा निगमले जगेडा पाङग्रा साथमा नलिएको र नजिकै सहजै नपाएका कारण निगमको विमान उतै अलपत्र परेको थियो । अफ्रिका आसपासमा कतै पाङग्रा सहजै उपलब्ध नभएपछि निगमले काठमाडौंबाट शनिबार दुइवटा जगेडा पाङग्रा (मेन व्हिल एसेम्बली) ज्याक, टायर प्रेसर इन्डिकेटर तथा अन्य कन्जुमेबल सामान कार्गोमार्फत् माली पठाएको थियो । ‘जहाज उता रोकिएकाले एक साता लाग्यो सामान पुग्न,’ एक इन्जिनियरले भने,‘बुधबार त्यहाँ पाङग्रा पुगेकै दिन मर्मत गरेर जहाज मालीको राजधानी बामाको, चाद, दोहा हुँदै हिजो (बिहीबार) काठमाडौं आइसक्यो । हामीले थप निरक्षण गरेर उक्त जहाजलाई मलेसिया पठायौं ।’ उक्त जहाजले फर्किँदा सेनानी संगीत पुनको नेतृत्वमा रहेका ७५ जना शान्ति सेनालाई राखेर नेपाल ल्याएको थियो । उक्त उडानमा निगमका चार जना पाइलट, १० जना क्याबिन क्रूसहित २० जना अतिरिक्त कर्मचारी पनि थिए ।

यो जहाज कात्तिक २ गते राति ११ बजे सेनाको ईओडी गुल्म (शान्ति सेना) को आठौं डफ्फा बदली गर्न काठमाडौंबाट उडेको थियो । सानो जहाज भएकाले सिधा उडान गर्न इन्धन नपुग्ने भएकाले यसले काठमाडौंबाट उडेपछि दोहा, अफ्रिकाको चादमा इन्धन भरेर गाओ पुगेको थियो भने फर्किदा मालीको राजधानी बामाको, चाद र दोहामा अवतरण गरी इन्धन भरेर काठमाडौं फर्किएको उक्त उडानमा रहेका चालकदलका एक सदस्यले कान्तिपुरलाई बताए ।