मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता टोली गठन, प्रधानमन्त्री प्रचण्डले आजै भेट्ने

काठमान्डौ- बर्दिबासबाट पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्‍याज पीडितसँग छलफल गर्न वार्ता टोली गठन भएको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव रूद्रादेवी शर्मा संयोजकत्वमा वार्ता टोली गठन भएको हो । टोलीमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङसहित प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयका प्रतिनिधि समेत छन् ।

मंगलबार बिहान मिटरब्याजी पीडितहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने भन्दै बालुवाटार पुगेका थिए। त्यसबीच गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माको टोली पुगेर उनीहरूसँग वार्ता गरेका थिए । त्यसपछि अहिले पुन: वार्ता टोली गठन भएको हो । ‘उहाँहरूले भेट्न खोज्नुभएको थियो। भेट्न जानुअघि उहाँहरूका कुरालाई बुँदागत रूपमा कसरी लाने भन्ने विषयमा हामीले सोधेका छौं,’ गृहका उपसचिव दिलकुमार तामाङले भने, ‘उहाँहरूसँग आज छलफल गर्छौं ।’

११ दिन हिँडेर आइतबार मिटरब्याजी पीडितहरू काठमाडौं आइपुगेका हुन् । पटकपटक गरी उनीहरू न्याय माग्न काठमाडौं आउने गरेका छन् । काठमाडौं आएर उनीहरू सुरूमा मातातीर्थमा बास बसेका थिए । सोमबार काठमाडौंको खुलामञ्चमा बास बस्ने तयारीमा थिए। तर महानगरले उक्त ठाउँमा प्रवेश दिएन । उक्त ठाउँमा प्रवेश नदिएपछि उनीहरू खुलामञ्चको पश्चिम गेटबाहिर सडकमै सुतेका थिए । यस्तै आज बिहानै उनीहरू प्रधानमन्त्रीलाई भेट्ने भन्दै बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले आज नै पीडितहरूसँग भेट गर्ने र थप छलफल गर्ने कार्यक्रमसमेत रहेको सचिवालयले जनाएको छ ।

सरकारले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्नुपर्छः लामिछाने

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् । मंगलबार विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरूलाई प्रदर्शनस्थलमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरूको समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताए । उनले आफ्नो पार्टी पीडितहरूको साथमा सदैव रहेको पनि बताए । मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्नु नहुने उनको भनाइ छ ।

उनले मिटरब्याज पीडितहरूको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने भन्दै वास्तविक पीडितहरूको समस्या समाधान गर्ने बताए । सरकारले आर्थिक अवस्था कमजोर भएका मानिसहरूलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने उनको भनाइ छ । ‘हाम्रो पार्टी र हामी तपाईहरूको साथमा छौँ, यसलाई राजनीतिकरण गर्नको लागि होइन, तपाईहरूको मुद्दामा टेकेर आफ्नो राजनीतिको रोटी सेक्न होइन, वास्तविक पीडितहरू हुनुहुन्छ भन्ने थाहा पाएपछि तपाईहरूलाई साथ दिनको लागि हामी आएका हौँ,’ उनले भने, ‘हामी यसबाट लाभ लिन होइन, तपाईहरूको साथमा हामी छौँ । तल्लो वर्गको मानिसलाई जब प्राथमिकतामा राखिन्छ, तब मात्रै समस्या समाधान हुन्छ, मैले मन्त्री बनेर काम गर्दा यस्ता समस्यालाई पहिलो प्राथमिकतामा राखेको थियौँ । पहिलो प्राथमिकतामा गरिब, किसानलाई राखेपछि मात्रै यो समाधान हुन्छ । मिटब्याजको समस्या पहिलो प्राथमिकतामा राख्नुपर्छ र रातारात समस्या समाधान गर्नुपर्छ । राज्यले उहाँहरूलाई राम्रोसँग बस्ने सुविधा दिनुपर्छ । उहाँहरूलाई सुरक्षित बनाउनुपर्छ । उहाँहरूको माग तुरुन्त समाधान गर्नुपर्छ ।’

मिटरब्याज पीडितहरूको विरोध प्रदर्शनमा रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्याल पनि सहभागी थिए ।

आन्दोलनमा राजनीतिक घुसपैठ : ‘राजावादी’ भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी

विभिन्न माग राखेर धर्ना बसिरहेका मिटरब्याजीहरुप्रति ऐक्यवद्धता जनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही आज मध्यान्न माइतीघर पुगे । तर, उनीहरुले त्यहाँ शाही धर्नास्थलमा पुग्दा धर्नामा बसेकाहरूमध्ये केहीले उनीविरुद्ध नाराबाजी र होहल्ला गरेका थिए । उनीहरूले शाहीलाई ‘राजावादी’ र ‘सामन्तवादी’ भन्दै विरोध गरे ।

‘हामीलाई राजावादीको समर्थन चाहिँदैन’ भन्दै नाराबाजी भएपछि शाहीले आफ्नो भनाइ राखेका थिए । उनले आफू जनप्रतिनिधि भएको नाताले पीडितहरूको समस्या सुन्न र ऐक्यबद्धता प्रकट गर्न आएको बताए । यो राजनीतिक मुद्दा नभएकाले राजनीतिकरण नगर्न पनि उनले आग्रह गरे । तर, भिडमा रहेका केही उत्तेजक व्यक्तिहरूले झन् चर्को नाराबाजी गरेपछि शाही त्यहाँबाट पन्छिए ।

शाही भिडबाट निस्केपछि केही वास्तविक पीडितहरू उनीसँग पुगेर दु:ख व्यक्त गरेका थिए । ‘हामीलाई राजनीति मतलब छैन, तपाईँ समर्थन गर्न आउँदा नाराबाजी भएकोमा दुखी छौँ,’ एक पीडितले भनेका थिए । यस विषयमा नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै शाहीले आफूविरुद्ध नाराबाजी गर्नेहरू वास्तविक पीडित नभएको बताए । ‘पीडितहरूले नाराबाजी गरेकै होइनन्, जसले गरे उनीहरू राजनीतिक कार्यकर्ता थिए,’ उनले भने, ‘मिटर ब्याज पीडितहरूको धर्नामा माओवादी कार्यकर्ताको घुसपैठ भएको रहेछ ।’

शाहीको आरोपबारे हामीले क्रस चेक गर्दा वैद्य र विप्लवनिकट माओवादी कार्यकर्ताहरूले यो आन्दोलनको अगुवाइ गरिरहेको पाइएको छ । साथै, नेकपा एकीकृत समाजवादीका व्यक्तिहरू पनि धर्नामा देखिएका छन् । शाहीविरुद्ध उनीहरूले नै आक्रामक नाराबाजी गरेका हुन् ।वास्तविक मिटरव्याजपिडितलाई ज्ञानेन्द्र शाही कुन पार्टीका हुन् भन्ने पनि सायदै थाहा होला ।