नेपालमा निर्माण सामग्रीको भाउ यस्तो छ, एक तले घरमा कति लाग्छ खर्च ?
पछिल्लो समय केही मुख्य निर्माण सामग्रीको मूल्य हेरफेर भएको छ । व्यवसायीहरूका अनुसार गिटी-बालुवाको भाउ स्थिर छ । इँटा, सिमेन्ट र डन्डीको भाउ थोरै तलमाथि भएको हो । हाल बजारमा इँटाको भाउ कम भएको छ, सिमेन्ट र डन्डीको बढेको छ। त्यस्तै गिटी-बालुवाको स्थिर छ ।
हेरौं कुन निर्माण सामग्रीको मूल्य कति पुग्यो ।
इँटा
अहिले बजारमा इँटाको मूल्य गुणस्तर हेरेर गोटाको १४ देखि २१ रूपैयाँसम्म पर्ने गोल्डेन निर्माण सप्लायर्स, बल्खुका सञ्चालक ऋषि खतिवडाले जानकारी दिए । उनका अनुसार धादिङको लोकल इँटा प्रतिगोटा १४ देखि साढे १४ रूपैयाँसम्म पर्छ। त्यस्तै भक्तपुरे इँटा गोटाको १५ देखि १६ रूपैयाँ पर्छ । तराईको इँटा भने महँगो छ । यो प्रतिगोटा २० देखि २१ रूपैयाँ छ । ‘इन्धनको मूल्य बढेकाले दुई/तीन महिनायता तराईको इँटा गोटामा एक/दुई रूपैयाँ बढेको छ,’ उनले भने ।
अहिले देशको आर्थिक अवस्थासँगै उपभोक्ताको किन्ने क्षमता पनि कम छ । यही कारण इँटाको भाउ अझै घट्ने संकेत देखिएको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकार बताउँछन् । ‘घर बनाउनेको संख्या घट्दो छ । त्यसैले इँटाको मूल्य अझै घट्न सक्छ,’ उनले भने ।
गिटी–बालुवा
गोल्डेन निर्माण सप्लायर्सका सञ्चालक खतिवडाका अनुसार गिटी-बालुवाको भाउ विगत आठ महिनादेखि स्थिर छ । अहिले उपभोक्ताले गिटी–बालुवा प्रतिटिपर २९ हजारदेखि ३० हजार रूपैयाँमा पाइरहेको उनले जानकारी दिए ।
काठमाडौंका निर्माण क्षेत्रमा धादिङको माधवबेसी, बैरेनी, गजुरी, सिन्धुपाल्चोकको मेलम्ची खोला, भकुन्डेबेसी लगायत ठाउँबाट गिटी-बालुवा आउँछ। सिन्धुपाल्चोकको तुलनामा धादिङबाट आयात हुने गिटी-बालुवा गुणस्तरीय मानिन्छ ।
सिमेन्ट
सिमेन्टको भाउ केही बढेको छ । दुई महिनाअघि बोरामा पाँचदेखि दस रूपैयाँ बढेको पुरानो सिनामंगलस्थित क्षमादेवी इन्टरप्राइजेजका प्रोप्राइटर अन्सन शाखले बताए । ‘पुसदेखि मूल्य बढेको छ। त्यसअघि त कम नै थियो,’ उनले भने ।
भाउ जान्नुअघि हामीकहाँ प्रयोग हुने सिमेन्टबारे थाहा पाउन जरूरी हुन्छ । हामीकहाँ निर्माणमा ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) गरी दुई प्रकारका सिमेन्ट प्रयोग गरिन्छ ।
ओपिसी छिटो सुक्छ। जुन निर्माण छिटो सक्नुपर्ने हुन्छ वा छिटो फर्मा खोल्नुपर्ने हुन्छ, त्यहाँ यो सिमेन्ट प्रयोग गरिन्छ। ओपिसी स्ल्याब, पिलर, पुल ढलान आदि काममा प्रयोग हुन्छ । ढलानका लागि ओपिसी मात्रै प्रयोग हुन्छ भन्ने चाहिँ होइन । लामो फर्मा नखोली राख्न सकिने ढलानमा पिपिसी प्रयोग गर्न सकिन्छ । पर्खाल वा गारोको मसला, प्लास्टर, भुइँ ढलान आदिमा पिपिसी धेरै प्रयोग हुन्छ ।
प्रोप्राइटर शाखका अनुसार हाल ओपिसीको भाउ ६ सय ९० रूपैयाँ बोरादेखि ७ सय ६० रूपैयाँसम्म छ । हेटौंडा सिमेन्ट भने बोराको ८ सय ५० रूपैयाँसम्म पर्छ । पिपिसी ओपिसीका तुलनामा केही सस्तो हुन्छ । अहिले पिपिसी बोराको ६ सय २० रूपैयाँ हाराहारी पर्छ । ‘अहिलेको भाउ धेरै महँगो होइन। तर निर्माण सामग्रीको माग धेरै कम भएको छ,’ उनले भने ।
डन्डी
पछिल्ला दुई महिनामा डन्डीको भाउ बढेको छ। प्रोप्राइटर शाखका अनुसार डन्डीको मूल्य किलोमा ७ रूपैयाँसम्म बढेको हो । अहिले ब्रान्डअनुसार डन्डी किलोको १ सय ११ रूपैयाँदेखि १ सय २८ रूपैयाँसम्म पर्ने उनले जानकारी दिए ।
एक तले घर बनाउन कति लाग्छ इँटा, गिटी-बालुवा, सिमेन्ट र डन्डीमा खर्च ?
यहाँ हामीले काठमाडौंमा आठ सयदेखि एक हजार वर्गफुटमा (तीन/चार/पाँच आना जग्गामा) बनाउन सकिने चार कोठे घरमा यी निर्माण सामग्रीको लागत अनुमान विवरण तयार पारेका छौं । विभिन्न निर्माण कम्पनीका इञ्जिनियर तथा प्राविधिकहरूसँगको कुराकानीपछि हामीले यो विवरण तयार पारेका हौं ।
सिमेन्ट
एक तले घरमा लाग्ने सिमेन्टको अनुमान गर्दा घरमा राखिने पिलर र बिमको आकारलाई ध्यान दिनुपर्छ । त्यस्तै गारोको आकारले पनि लागत निर्धारण गर्छ । सामान्यतया आठ सयदेखि एक हजार वर्गफिटमा बन्ने घरका लागि बढीमा तीन सय बोरा ओपिसी अनुमान गर्नुपर्छ । पिपिसी पनि यति नै लाग्छ। दुवै मिलाएर करिब छ सय बोरा सिमेन्ट चाहिन्छ ।
अहिलेको मूल्यका हिसाबले ओपिसीमा दुई लाख ७ हजारदेखि दुई लाख ३० हजार रूपैयाँ खर्च हुन्छ । त्यस्तै पिपिसीमा करिब एक लाख ९० हजार रूपैयाँ अनुमान गर्नुपर्छ । यसरी दुवैथरि सिमेन्टमा करिब चार लाखदेखि चार लाख २० हजार रूपैयाँसम्म खर्च हुन्छ ।
इँटा
प्राविधिकका अनुसार घरको जग र पहिलो तलामा नौ इन्च गारो लगाउँदा राम्रो हुन्छ । जगमा बलियो पार्नुपर्ने र पहिलो तला तुलनात्मक रूपमा ओसिलो हुनाले मोटो गारो लगाउन सुझाव दिइन्छ ।
गारोको उचाइ र मोटाइ हिसाब गरेर कुनै पनि घरमा लाग्ने इँटाको संख्या पत्ता लगाउन सकिन्छ । झ्याल र ढोकाको आकारले इँटाको लागत फरक पार्छ। प्रत्येक कोठामा स्ट्यान्डर्ड आकार (लम्बाइ छ फिट र चौडाइ चार फिट) को दुइटा झ्याल र एक वटा ढोका राखेर नौ इन्चको गारो लगाउँदा करिब २८ हजार इँटा अनुमान गर्नुपर्छ ।
अहिले इँटा १४ देखि २१ रूपैयाँ गोटासम्मका पाइन्छन् । यो हिसाबले एक तले घरमा करिब चार लाखदेखि पाँच लाख ९० हजार रूपैयाँ बराबरको इँटा किन्नुपर्छ ।
गिटी–बालुवा
चार कोठे घरका लागि १५ टिपर गिटी–बालुवा चाहिन्छ । हालको मूल्यका हिसाबले गिटी–बालुवामा करिब साढे चार लाख रूपैयाँ छुट्याउनु पर्छ ।फिनिसिङ, गारोको आकारले बालुवाको लागत निर्धारण हुन्छ। मूल्य तलमाथि भएको अवस्थामा लागतमा पनि कम बढी हुन्छ । त्यस्तै छत ढलान नगरी बनाइने एकतले घरमा भने गिटी–बालुवाको लागत एक तिहाइ कम हुन्छ ।
डन्डी
पिलर, भित्रको पर्खाल आदिले डन्डीको लागत निर्धारण गर्छ । प्राविधिकका अनुसार जग राख्दा जमिनबाट कम्तीमा पाँच फिट गहिरो हुनुपर्छ । जगबाट पिलर उठाउँदा प्रति पिलर १ सय २५ किलोभन्दा बढी डन्डी लाग्छ। जगसँगै राखिने बिम, डिपिसी बिम, झ्यालको तल र माथि, पहिलो तलाको ढलान अड्ने बिम, भर्याङ र ढलानमा गरी करिब साढे ५ टन (पाँच हजार ५ सय किलो) डन्डी आवश्यक पर्छ ।
हालको डन्डीको भाउअनुसार एकतले घरका लागि करिब ६ लाखदेखि ७ लाख रूपैयाँ लगानी गर्नुपर्छ । यसरी हेर्दा चार कोठे घर बनाउन इँटा, सिमेन्ट, गिटी-बालुवा र डन्डीमा मात्र साढे १८ लाखदेखि साढे २२ लाख रूपैयाँ खर्च हुने देखिन्छ ।
घर बनाउनेको रोजाइ र आवश्यकता अनुसार यो हिसाब फरक पर्छ । यसबाहेक घर बनाउँदा खर्च हुने ठाउँ धेरै हुन्छन् । ठेकदार ज्यालादेखि नक्सा र डिजाइन, झ्याल ढोका, पाइप जडान, ट्यांकी, बिजुली, रंगरोगन, भान्सा, बाथरूममा पनि खर्च हुन्छ। त्यस्तै रोजाइ र आवश्यकताअनुसार अरू सामानमा पनि खर्च बढ्छ ।