नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय, समर्थन पनि फिर्ता
काठमाडौं । नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । साथै एमालेले सरकारबाट पनि फिर्ता हुने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुर गर्नुहुँदै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० मा भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नगएको र प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीले एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरूलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले जेनेभा भ्रमणमा जान लाग्नुभएकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर प्रधानमन्त्रीले अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिशोध साँधेको आरोप लगाउनुभयो । उहाँले अन्तिम समयमा राष्ट्रको प्रतिनिधित्व गर्नबाट रोक्दा राष्ट्रको इज्जतमाथि नै प्रतिकूल असर परेको दाबी गर्नुभयो ।
‘‘आजको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय गरेको छ । हामीले विशिष्ट परिस्थितिमा यो सरकारमा सहभागी भएका थियौँ । राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन गर्नुभएन र अरू दलको समर्थनमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गर्नुभयो । तर पनि हामीले मुलुकको अवस्थालाई विश्लेषण गरेर राष्ट्रपतिमा सहमति नभए पनि देशको परिस्थिति हेरेर अघि बढिरहेका थियौँ ।,’’ उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘‘तर प्रधानमन्त्रीले पछिल्लो समय नेकपा एमालेमाथि जुन किसिमको व्यवहार गर्नुभयो, जेनेभा जान लाग्नुभएकी मन्त्री विमला राई पौड्याललाई रोक्नुभयो, उहाँले एमाले सरकारबाट नहटे बिना विभागीय मन्त्रीको रूपमा राख्ने जस्ता अभिव्यक्ति दिनुभएपछि हामी सरकारमा बस्न सकेनौँ । त्यसैले सरकारबाट फिर्ता हुने निर्णय गरेका छौँ । राष्ट्रको इज्जतमाथि नै यसले प्रतिकूल असर पारेको छ ।’’
उहाँले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन नगरेर देशमा राजनीतिक स्थिरता नचाहेको आरोप लगाउनुभयो ।
एमालेका मन्त्रीले राजीनामा दिँदै
त्यस्तै पार्टीले सरकारबाट बाहिरिने निर्णय गरे लगत्तै सरकारमा प्रतिनिधित्व गरेका आठ मन्त्रीले आज राजीनामा बुझाउने भएका छन् । नेकपा एमालेको सोमबार बसेको सचिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेसँगै आठजना मन्त्रीले राजीनामा दिन लागेका हुन् ।
एमालेबाट प्रतिनिधित्व गरेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री बिमला राई पौड्याल,रक्षामन्त्री हरिराज उप्रेती,स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा दिन लागेका हुन् ।
यस्तै,उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी,महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी,कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी शाह,भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राइले राजीनामा बुझाएका हुन् ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिसकेका छन्। राप्रपा र रास्वपाले सरकारलाई दिएको समर्थनलाई भने निरन्तरता दिएका छन् ।