म्यान्चेस्टर युनाइटेडले जित्यो काराबाओ कप

एजेन्सी । सन २०१७ पछि म्यान्चेस्टर युनाइटेडले न्युकासललाई हराउँदै इंग्लिस लिग कप (काराबाओ कप) को उपाधि जितेको छ । आइतबार राति वेम्ली मैदानमा भएको फाइनलमा न्युकासललाई २–० ले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेडको जितमा मिडफिल्डर कासेमिरोले र रासफोर्डले गोल गरे ।

खेलको ३३ औं मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई सुरूआती अग्रता दिलाए। रासफोर्डले ३९औं मिनेटमा दोस्रो गोल गर्दै युनाइटेडलाई पहिलो हाफमै २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा यहीँ अग्रता जोगाएको युनाइटेडले ६ वर्षको उपाधि खडेरी समेत अन्त्य गरेको छ। डच प्रशिक्षक एरिक टेन हाको आगमनपछि युनाइटेडले यस सिजन २०१७ यता पहिलो उपाधि जितेको हो।

युनाइटेडले पछिल्लो पटक सन् २०१६–१७ को सिजन जोस माउरिन्होको प्रशिक्षणमा युरोपा लिग जितेको थियो । यस्तै त्यही वर्ष लिग कपको पनि उपाधि जितेको थियो । बर्तमान प्रशिक्षक एरिक टेन ह्यागको पनि युनाइटेडमा यो पहिलो लिगकप हो ।

सन् २०१३ मा पछिल्लो पटक प्रिमियर लिग जितेको युनाइटेडले एक दशक यता लिग जित्न सकेको छैन । जारी सिजन लिगमा तेस्रो स्थानमा रहेको युनाइटेड १४ खेल खेल्न बाँकी रहेको आर्सनलभन्दा आठ अंकले पछाडि छ । त्यस्तै युनाइटेड युरोपा लिगको अन्तिम १६ मा पनि पुगेको छ । यस्तै एफए कपमा पाँचौं चरणमा पुगेको छ ।