विमानस्थल जानै लाग्दा प्रधानमन्त्रीले रोकिदिए परराष्ट्र मन्त्री पौड्यालको जेनेभा भ्रमण
काठमाण्डौ । परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तिम समयमा रोकिदिएका छन् । मन्त्री पौड्यालकी सञ्चार संयोजक यशोदा अधिकारीका अनुसार ६ बजेको फ्लाइटमा उनी जेनेभाका लागि जाने तयारी थियो । दिउँसो साढे तीन बजेतिर प्रधानमन्त्री कार्यालयबाट फोन आएपछि उनको भ्रमण रोकिएको हो ।
‘मलाई बिहान प्रधानमन्त्रीज्यूले फोन गरेर तपाईं कहिले जेनेभा जाँदै हुनुहुन्छ भनेर सोध्नुभएको थियो । मैले आज जाँदैछु भनेकी थिएँ। उहाँले खबर गर्छु भन्नुभएको थियो,’ भ्रमण रोकिएपछि सेतोपाटीसँग कुरा गर्दै मन्त्री पौड्यालले भनिन्,‘दिउँसो साढे ३ बजेतिर म विमानस्थल जाने तयारीमा रहेका बेला मुख्यसचिवको मन्त्रालयमा फोन आयो, परराष्ट्र मन्त्री नजानुहोला भनियो।’ आफूलाई अपमानित गर्ने गरी फोन आएपछि विमानस्थल नगएको पौड्यालले बताइन् । यसअघि बिहान ११ बजे पत्रकार सम्मेलन गरेर मन्त्री पौड्यालले आफू जेनेभा जान लागेको जानकारी दिएकी थिइन् । आफ्नो भ्रमण अन्तिम समयमा किन रोकिएको भन्नेबारे आफूलाई कुनै जानकारी नदिइएको पौड्यालले बताइन् । परराष्ट्र मन्त्री विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जान लागेकी थिइन् ।
बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्री पौड्यालले बताएकी थिइन् । सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफूले गरेको प्रगतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन र बहुपक्षीय तथा द्वीपक्षीय छलफलको माध्यम अन्य मुलुकसँगको सम्बन्धलाई अझै बलियो बनाउने अवसरमा रूपमा पनि सो बैठकलाई उपयोग गरिने मन्त्री पौड्यालले पत्रकार सम्मेलनमा भनेकी थिइन् ।
‘हाम्रो उपस्थिति अत्यन्तै महत्वपूर्ण हुनेछ। हामीले यस क्षेत्रमा राम्रो काम पनि गरेका छौं। हामीले राम्रो तयारी गरेका छौं। विशेष गरेर मानव अधिकारको क्षेत्रमा नेपाललाई राम्रै मानिन्छ । हामी मानव अधिकारको क्षेत्रमा राम्रो प्रगति गरेको देश भित्रै पर्छौं,’ मन्त्री पौड्यालले भनेकी थिइन्,‘त्यो कामलाई हामीले विश्वसामु चिनाउनुपर्ने हुन्छ । देखाउनु पर्छ। त्यसका निम्ति पनि हाम्रो उपस्थिति जरूरी छ। र, हामी त्यहाँ गएर राम्रो अभ्यास पनि दर्शाउँछौं। द्वीपक्षीय र बहुपक्षीय सम्बन्ध विस्तारको विषयमा पनि छलफल हुन्छ ।’
मन्त्री पौड्याल सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो ।