रामचन्द्र पौडेललाई राष्ट्रपतिमा जिताउन ८ दलले कार्यदल बनायो

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साँझ बालुवाटारमा आठ दलको बैठक बोलाएका थिए । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले राष्ट्रपतिको चुनावका लागि आठ राजनीतिक दल मिलेर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको बताइन् । आठ दलीय गठबन्धनमा माओवादी केन्द्र, कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।

जसपा नेता श्रेष्ठका अनुसार राष्ट्रपति निर्वाचनमा मिलेर अगाडि बढ्ने सन्दर्भमा निर्वाचन प्रचार कार्यक्रम कसरी व्यवस्थित गर्ने भन्ने विषयमा केही समझदारी भएको थियो ।

‘राष्ट्रपतिको निर्वाचनलाई तयारी गर्नका लागि ‘फोकल कमिटी’ गठन गर्ने निर्णय भयो । प्रत्येक दलबाट एक-एक जना सदस्य रहने कुरा छ,’ श्रेष्ठले भने, ‘राष्ट्रपति निर्वाचनको प्रचारप्रसारका सन्दर्भमा १८ फागुनमा आठै दलका संघीय सांसदहरूको बीचमा बैठक र छलफल गर्ने निर्णय भयो । १९ गते प्रत्येक प्रदेशहरूमा कार्यक्रम गर्ने र त्यसका लागि नेताहरू पठाउने निर्णय भयो । फागुन २३ मा सबै प्रदेशसभाका सांसदहरूलाई काठमाडौं बोलाइसक्ने र २४ गते सबै प्रमुख नेताहरूले सबै सांसदहरूसमक्ष आफ्ना धारणा राख्ने समझदारी भएको छ ।’

आइतबारको बैठकमा भएका विषयलाई आफ्ना दलका सांसदहरूसम्म पुर्‍याउनका लागि सबै दलहरूले यसबीचमा संसदीय दलको बैठक राख्ने र छलफल गर्ने समझदारी भएको पनि श्रेष्ठले जानकारी दिए । राष्ट्रपति निर्वाचनका लागि समीकरण बन्नुमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशीता तथा संविधानको रक्षालाई आधार मान्ने विषयमा पनि दलहरू एकमत रहेको श्रेष्ठले बताए ।