राष्ट्रपति पदमा कांग्रेसबाट रामचन्द्र पाैडेलको उम्मेदवारी दर्ता

काठमाडौँ — नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन-२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।

कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पूर्वसभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका पौडेल गत मंसिर ४ मा तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहेका छन् भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् । पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि एमालेको तर्फबाट उपाध्यक्ष सुवाष नेम्वाङले उम्मेदवारी दिइसकेका छन् ।

रामचन्द्रले पौडेलले भने- ओलीजी पुरानो साथी हो, सर्वसम्मत बन्न सहयोग गर्ने आशा छ

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मैले सर्वसम्मत बन्ने इच्छा गरेको हो । निर्वाचनको दिनसम्म हुन्छ कि कोसिस रहन्छ। मैले अपेक्षा गरेको छु। एमाले अध्यक्ष ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो। पुरानो साथी हो । उहाँले पनि सबैको साझा पदमा सहमति जुटाउन योगदान गर्नुहोला भन्ने विश्वास लिएको छु ।’

उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न अहिलेको चुनौती भएकाले आफ्नो भूमिका त्यसमा केन्द्रित हुने बताएका छन् । उनले भने, ‘जनताको हातमा आएको सार्वभौम सत्तालाई बलियो गरेर सुरक्षित गर्नुपर्छ । राष्ट्रियतालाई सबल बनाउने काम सहयोग हुन्छ ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भेट सकारात्मक भएको बताए । उम्मेदवारी दर्ताअघि पौडेल आफूलाई सहयोग गर्न आग्रह गर्दै लामिछाने निवास पुगेका थिए ।