राष्ट्रपतिको उम्मेदवारीबारे बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता जारी
काठमाण्डौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो। उनीहरूबीच राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।
अध्यक्ष ओलीले बालुवाटार जानुअघि संघीय संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपतिमा एमालेबाट उम्मेदवार हुने बताएका थिए । राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ताको कार्यक्रम छ ।
नेपाली कांग्रेससहित दलले भने चुनावको बेलाको गठबन्धन ब्युँताउन खोजेका छन् । प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेसँग बेग्लाबेग्लै छलफल गर्ने बताएका थिए । बिहान कांग्रेसलगायत दलसँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले दिउँसो बालुवाटारमै अध्यक्ष ओलीसँग छलफल गरेका हुन् ।
गत पुस १० मा भएको सहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने अडानमा एमाले छ । अध्यक्ष ओलीले पनि राष्ट्रपतिमा एमालेबाट उम्मेदवार हुने कुरा पुस १० मै टुंगो लगाइसकिएको बताए ।