राष्ट्रपतिमा कांग्रेसलाई सघाउन अनुरोध, माधव नेपाललाई पनि मिलाउने
काठमाडौँ — चार दलको बैठकमा कांग्रेसले राष्ट्रपति पद आफैले पाउनुपर्ने अडान राखेको छ । सत्तारुढ दल माओवादीसहित जसपा र एकीकृत समाजवादी पार्टीसँगको बालुवाटारमा बसेको बैठकमा कांग्रेसले आफ्नै उम्मेदवारलाई सघाउने प्रस्तावमा अडान दोहोर्याएको हो । राष्ट्रपति निर्वाचनको संघारमा समाजवादी मोर्चा बनाउने गृहकार्य गरिरहेका माओवादी, एकीकृत समाजवादी र जसपाले माधवकुमार नेपालको नाम अघि सार्दा कांग्रेसले भने आफ्नै उम्मेदवारलाई सघाउन प्रस्ताव राखेको हो । राष्ट्रपतिमा आफूलाई सघाएमा नेपाललाई सत्ता समीकरणका अन्य भागबन्डामा ठाउँ दिने कांग्रेसको प्रस्ताव गरेको छ ।
कांग्रेस सहमत भए राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पाँचदलीय गठबन्धनको साझा उम्मेदवार बनाउने, सहमत नभए उनलाई एक वर्ष सरकारको नेतृत्व दिने गरी मनाउने तयारीमा दलहरू रहेका छन् । उपराष्ट्रपति भने जसपालाई दिने कुरामा माओवादी र एकीकृत समाजवादी पार्टी एकठाउँमा रहेका छन् ।
बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले दुवै पक्षबाट फरक-फरक प्रस्ताव आए पनि शुक्रबार साँझसम्म एउटै निर्णयमा पुग्ने समझदारी कायम भएको बताए । बैठकका बारेमा जानकारी दिँदै उनले भने, ‘कांग्रेसले राष्ट्रपतिमा आफ्नै उम्मेदवार प्रस्ताव गरेको छ । कांग्रेसबाहेकका दलले पनि उम्मेदवारको नाम अघि सार्नु भएको छ । तर हामी एउटा टुंगोमा पुग्ने भन्ने समझदारी भएको छ तर त्यसअघि आ-आफ्ना पार्टीमा छलफल गर्छौं ।’ लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीलाई पनि शुक्रबार साँझ बस्ने बैठकमा सहभागी गराइने बताइएको छ ।
५ बजेको बैठकबाट चार दलले राष्ट्रपतिको उम्मेद्वार टुंग्याउने
काठमाडौँ- नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीबीच भावी राष्ट्रपतिका विषयमा सहमति जुट्न सकेको छैन । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा दलका शीर्षनेताबीच भावी राष्ट्रपतिबारे सहमति जुट्न नसकेको हो । चार घण्टाभन्दा लामो समय छलफलमा जुटेका दलहरुबीच कुन पार्टीबाट कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन । जसकारण फेरि शुक्रबार साँझ बैठक बस्ने तयारीमा उक्त दलहरु छन् ।
बिहान साढे ८ बजेबाट चार घण्टा बसेको दलको बैठक सकारात्मक भएको बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । उनका अनुसार बैठकमा दलहरुबीच विभिन्न विकल्पबारे छलफल भएको र यसबारे आ–आफ्नो दलभित्र छलफल गरेर पुनः शुक्रबार साँझ ५ बजे बैठक बस्नेछ । यही बैठकले राष्ट्रपतिको उम्मेद्वार टुंग्याउने भएका छन् ।
छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता १३ फागुनमा हुने निर्वाचन तालिकामा उल्लेख छ ।