पुस १० को परिस्थिति बदलियो, राष्ट्रपति सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई
काठमाडौँ — माओवादीको पदाधिकारी बैठकले पुस १० मा एमालेसँग भएको सत्तासाझेदारीको परिस्थिति बदलिएको भन्दै आफ्ना स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य गर्ने निष्कर्ष निकालेको छ । सोमबार साँझ बसेको बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले स्वार्थ जोसँग मिल्छ त्यससँग सहकार्य गर्ने निष्कर्ष निस्केको जानकारी दिए ।
‘पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ। गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन् । यी स्वार्थमा जोसँग मिल्छ त्यससँग सहकार्य हुन्छ’ महराले भने,’हामीले राष्ट्रिय सहमति भनेका छौं । त्यसका लागि उम्मेदवारी दिने बेलासम्म कोसिस हुन्छ ।’ उनले बैठकमा एउटा मात्र एजेण्डामा छलफल भएको बताए । अध्यक्ष दाहालले अहिलेसम्म दलहरुसँग भएका वार्ताको ब्रिफिङ गरेका थिए ।
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सोमबार केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको जानकारी दिनुभएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै महराले भन्नुभयो, “आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्यो । बैठकमा एउटा मात्रै एजेण्डा थियो, त्यो भनेको आगामी राष्ट्रपति चुनावका सन्दर्भमा के गर्ने भन्ने थियो । त्यो विषयमा अध्यक्ष कमरेड प्रचण्डले समग्र परिस्थितिको विश्लेषण गरेर सुनाउनुभयो ।”
बैठकमा पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने निर्णय भएको उहाँले बताउनुभयो । “हामी हाम्रो पार्टीको स्वार्थमा केन्द्रित भएर आगामी राष्ट्रपति चुनावका निमित्त राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय गरेका छौं । हाम्रो स्वार्थ भनेको गणतन्त्रको रक्षा, संविधान, शान्ति प्रक्रिया टुङ्ग्याउने रहेको उहाँले प्रष्ट पार्नुभयो । तीन मुख्य स्वार्थमा राष्ट्रिय सहमति खोजी गर्ने नै हाम्रो नीति हुनुपर्छ भन्ने भयो” उहाँले बताउनुभयो । यसैगरी, राष्ट्रपतिमा कुन व्यक्तिको चर्चा भयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, “हामी यो वा त्यो व्यक्तिमा गएनौं । कुनै व्यक्तिको विषयमा छलफल नै गरेनौं ।”
“त्यसबारेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई अन्तिम निर्णय गर्ने जिम्मा दिइयो । अरु पार्टीका नेताहरुसँग पनि परामर्श गरेर उहाँले सो विषयमा सहमति गर्नुहुनेछ” पार्टीका उपाध्यक्ष समेत रहनुभएका नेता महराले बताउनुभयो ।