सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरूले जानकारी गराएका छन् । गत फागुन ३ गते राति बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । सांसद भण्डारीकी आमाको कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो। सोही दिन सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो ।
मुम्बईमा सांसद भण्डारीको उपचार जारी छ । उनको उपचारमा संलग्न रहेका चिकित्सकहरूले दिएको जानकारीअनुसार सांसद भण्डारीको अवस्था क्रमिक रूपमा सुधार हुँदै गइरहेको छ । अस्पतालमा रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार सांसद भण्डारीको प्लेटिलेट्सको मात्रा बढेको छ भने पिसाबको मात्र नर्मल देखिएको चिकित्सकहरूले जानकारी दिएका छन् । भण्डारीको शरीरमा ज्वरो छैन । ‘सबै अंगहरूले नर्मल रूपमा काम गरिरहेको जानकारी डाक्टरहरूले दिनुभएको छ,’ कँडेल भन्छन्, ‘अक्सिजन दिन छाडिएको छ । स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ ।’