नेपाली कांग्रेसले कसलाई बनाउँछ होला राष्ट्रपतिको उम्मेदवार ?

काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आइतबार कर्णाली प्रदेशको सुर्खेत पुगेर दोहोर्‍याए, ‘कांग्रेसले नगुमाउनुपर्ने धेरै कुरा गुमाइसक्यो, हाम्रो सावधानी पुगेन । तर, राष्ट्रपतिको निर्वाचनमा सुखद समाचार सुन्न पाउनुहुन्छ ।’ महामन्त्री शर्मा मात्रै होइन, आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसक्दा राज्यसत्ताका सबै पद गुमाएर प्रतिपक्षी कित्तामा पुगेको कांग्रेसका नेताहरू अब राष्ट्रपतिको निर्वाचनमा १० पुसकै जस्तै नाटकीय राजनीतिक बदलाव हुने विश्वास दिलाइरहेका छन् ।

राष्ट्रपतिको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रसहितको विगतको गठबन्धन ब्यूँतिने र कांग्रेसले उठाएको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने नेताहरूको भनाइ छ । राष्ट्रपतिको निर्वाचनपछि कांग्रेस सत्तामा फर्किन सक्ने आशाले कांग्रेसजनमा उत्साह सञ्चार भइरहेको देखिन्छ । कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारे चासो बढेको छ भने आकांक्षी नेताहरूले दौडधुप बढाएका छन् । पार्टीबाट उम्मेदवार भए राष्ट्रपति बन्न सकिने भएपछि आकांक्षा राख्ने नेताहरूको संख्यासमेत थपिँदो छ ।

राष्ट्रपतिको उम्मेदवार बन्न कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम अग्रस्थानमा छ । नेता कार्यकर्ताको तहमा उनकै नाममाथि चर्चा भइरहेको छ । तर राष्ट्रपतिको निर्वाचन नजिकिँदासम्म भने आकांक्षीहरू बढिरहेका छन् । अर्का नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिका लागि लबिङ गरिरहेका छन् भने नेताहरू मानबहादुर विश्वकर्मा र गोपालमान श्रेष्ठले पनि आकांक्षा देखाएका छन् । केही नेताहरूले भने सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिको उम्मेदवार बन्न समेत प्रस्ताव गरेका छन् । तर, देउवा आफैँले भने कुनै रुचि देखाएका छैनन् ।

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बन्नेमा हालसम्म वरिष्ठ नेता पौडेल नै सबैभन्दा बलियो स्थानमा छन् । पौडेललाई सभापति देउवाले नै राष्ट्रपतिको उम्मेदवार बनाउने वचन दिइसकेका छन् भने आफ्नो नाममा अन्तरदलीय सहमति र दबाब बनाउन पौडेलको अथक मिहेनत छ । संसद्‍बाटै संवैधानिक पदहरूमा राष्ट्रिय सहमति गर्नुपर्ने आवश्यकता रहेको आह्वान गरेका पौडेलले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति बन्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि विपक्षमा रहेका दललाई समेत आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन् ।

‘मैले अहिले मात्र होइन, पहिलेदेखि नै राष्ट्रिय सहमतिको कुरा गर्दै आएको हुँ । तर कतिपयलाई आफ्नो स्वार्थका लागि राष्ट्रिय सहमति खोज्यो भन्ने लागेको हुनसक्छ, तर त्यो होइन,’ १० माघको प्रतिनिधिसभा बैठकमा पौडेलले भनेका थिए, ‘अहिले देशलाई संकटबाट मुक्त गर्नु हामी सबैको कर्तव्य हुन्छ । अहिलेको मुलुकको कमसल अर्थतन्त्र, भूराजनीतिक दबाब र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि भए पनि राष्ट्रिय सहमति हुनु आवश्यक छ ।’

पौडेलले आव्हान गरेजस्तै प्रधानमन्त्री दाहालले पनि राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिइरहेका छन् । तर, पौडेलकै नाममा राष्ट्रिय सहमति जुट्ने निश्चित छैन । यसबीचमा नेता पौडेल र प्रधानमन्त्री दाहालबीच पटकपटक भेटवार्ता भएको छ भने पौडेलले सभापति देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि निरन्तर संवाद गरेका छन् । पौडेलले हालै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेटेर पनि राष्ट्रपतिमा आफूलाई सघाउन आग्रह गरेका थिए ।

राष्ट्रपतिका लागि पौडेलकै जस्तै दौडधुप गरिरहेका छन्, अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि । तत्कालीन पाँचदलीय गठबन्धनको सरकार रहेका बेला सरकार र गठबन्धन सञ्चालनमा देउवा र दाहालका बीचमा पुलको काम गरेका उनी देउवा र दाहालको त्यही विश्वासको बलमा राष्ट्रपति बन्न कोसिस गरिरहेका छन् । ‘राष्ट्रपतिमा रामचन्द्रजी हुनुहुन्छ । सिटौलाजीको पनि दाबी छ, अरु पनि छन्,’ राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने जिज्ञासामा सभापति देउवाले नेताहरूलाई भन्ने गरेका छन् ।

यसआधारमा कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारका लागि पौडेल र सिटौलाबीचमै प्रतिस्पर्धा छ । पौडेल र सिटौला दुवै पार्टीमा सभापति देउवा र राष्ट्रपति निर्वाचनमा बहुमत जुटाउन माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री दाहालको मन जित्ने कसरत गरिरहेका छन् । देउवानिकट एक नेताका अनुसार देउवाले पौडेललाई पहिल्यै बचन दिइसकेका कारण पौडेल नै राष्ट्रपतिको उम्मेदवार हुने सम्भावना प्रबल छ । तर, सिटौलाको दाबी पनि कमजोर भने छैन ।

गत वर्ष १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी नदिएर अप्रत्यक्ष रुपमा देउवालाई सघाएका पौडेलले यसपटक संसदीय दलको नेता चयन गर्ने निर्वाचनमा खुलेरै सघाएका थिए । महाधिवेशनदेखि नै देउवा र पौडेलबीच सुमधुर सम्बन्ध छ । त्यसो त सिटौलाले पनि महाधिवेशनमा देउवालाई काँध हाले । आफ्नो समूहबाट प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएर देउवालाई सघाएका सिटौला त्यसयता निरन्तर देउवाको सहयोगीका रुपमा काम गर्दै आएका छन् । सिटौलाले खासगरी पाँच दलीय गबठन्धनमा चुनावी तालमेल र गठबन्धन सञ्चालनका विषयमा सहजीकरण गरेर देउवालाई सहयोग पुर्‍याएका थिए ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिले राष्ट्रपतिको उम्मेदवारबारे कुनै छलफल नभएको बताए । ‘अहिले हामी हाम्रो उम्मेदवारलाई कसरी राष्ट्रपति बनाउने भन्नेमा केन्द्रित छौं, उम्मेदवार कसलाई बनाउने भन्नेमा खासै समस्या छैन, हामी उम्मेदवार उठाउँछौं, को व्यक्ति भन्नेमा समय आएपछि निर्णय हुन्छ,’ उनले भने ।

कांग्रेसका अर्का एक प्रभावशाली नेताले भने राष्ट्रपतिको उम्मेदवार चयन गर्ने विषयमा कांग्रेसमात्रै निर्णायक नहुने बताए । ‘हामीले गुमिसकेको सत्ता फिर्ता ल्याउनुपर्ने हो । त्यसैले अहिले कसरी कांग्रेसको उम्मेदवार राष्ट्रपति बनाउने भन्ने नै मुल कुरा हुन्छ । हामी उम्मेदवारको विषयमा ठूलो अडान राख्दैछैनौं,’ ती नेताले भने, ‘राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारको मनोनयन छ, हामी ११ वा १२ गते त्यसबारे निर्णय गर्छौ, कसलाई उम्मेदवार बनाउने भन्ने विषय हामीलाई भोट हाल्ने गठबन्धनका दलहरूको चाहनामा पनि भर पर्छ ।’

ती नेताका अनुसार राष्ट्रपति कसलाई बनाउने भन्नेमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको राय मुख्य हुन्छ । दाहालले पौडेल वा सिटौला वा अन्य कोहीको पनि नाम लिए राष्ट्रपति निर्वाचनको मुखमा कांग्रेसले त्यसलाई सीधा नकार्न सक्ने छैन । तर प्रधानमन्त्री दाहालले पौडेल वा सिटौलामध्ये कसलाई रोज्लान् भन्ने निश्चित देखिँदैन । त्यसो त पौडेल र सिटौला दुवै प्रधानमन्त्री दाहाललाई रिझाउन लागेका छन् । सभामुखको निर्वाचनदेखि नै पौडेल र सिटौला प्रधानमन्त्री दाहालसँग निरन्तर संवादमा छन् ।

नेकपामा उत्पन्न विवादका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गर्दा सभापति देउवा चुनावको पक्षमा उभिएका थिए । तर, पौडेलले त्यसबेला संविधानको रक्षा गर्नुपर्ने भन्दै संसद् पुनस्थापनाको पक्षमा उभिदिँदा माओवादी अध्यक्ष दाहाललाई राहत पुगेको थियो । त्यसअघि पनि पौडेल र दाहालको सम्बन्ध राजनीतिकरुपमा त्यति धेरै कटुतापूर्ण छैन ।

त्यसो त दाहाल–सिटौला सम्बन्ध झन् बलियो मानिन्छ । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने सन्दर्भमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको विश्वासपात्रका रुपमा दाहालसँग संवाद गरेका सिटौला त्यसयता निरन्तर कांग्रेस–माओवादी सहकार्यका सम्बन्धसुत्र हुन् । दाहालले बेलाबेला ‘गिरिजाको पर्सनालिटी भएको नेता’ भन्दै सिटौलाको प्रशंसासमेत गर्ने गरेका छन् । पछिल्लो समय पाँच दलीय गठबन्धन र चुनावी तालमेल मिलाउने काममा समेत सिटौलाको सहयोगी भूमिकाले दाहाल खुसी छन् ।

सिटौलाले गत शुक्रबार मात्रै पनि प्रधानमन्त्री दाहाललाई भेटेर राष्ट्रपतिको चुनावबारे छलफल गरेका थिए ।

देउवानिकट नेता नैनसिंह महर भने सभापति देउवाले रुचाएको व्यक्ति नै राष्ट्रपतिको उम्मेदवार बन्ने बताउँछन् । ‘राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेमा खासै विवाद छैन । सभापतिज्यूले रामचन्द्र दाइलाई पहिल्यै वचन दिइसक्नुभएको छ,’ महर भन्छन्, ‘उहाँ पार्टीको वरिष्ठ नेता हो । माओवादीले पनि उहाँलाई रुचाउने देखिन्छ । त्यसैले सम्भवतः उहाँ नै राष्ट्रपतिको उम्मेदवार हो ।’

राष्ट्रपतिको उम्मेदवारमा पौडेल र सिटौलाको दाबी बलियो रुपमा प्रस्तुत भइरहेका बेला सामाजिक सञ्जालमा दलित वा जनजाति समुदायबाट राष्ट्रपति बनाउनुपर्ने माग समेत उठिरहेको छ । यस्तोमा कांग्रेसबाट मानबहादुर विश्वकर्मा वा गोपालमान श्रेष्ठलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने माग छ । पार्टीभित्रै विश्वकर्मा वा श्रेष्ठलाई राष्ट्रपतिको उम्मेदवार बनाउन एकथरी नेताहरूले लबिङ गरिरहेका छन् ।

माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई सघाउने वा नसघाउने भन्ने अन्तिम निर्णयले कांग्रेसको उम्मेदवार को हुने भन्ने निर्क्योल गर्ने एक पदाधिकारी बताउँछन् । ‘अहिले जो चर्चामा हुनुहुन्छ, उहाँहरू विजयी हुने गरी भए मात्रै उम्मेदवार बन्न चाहने हो । त्यसैले भोलि उहाँहरूभन्दा फरक व्यक्ति पनि उम्मेदवार बन्न सक्ने हुन्छ,’ ती नेताले भने ।

देउवाले पार्टी विभाजन गर्दा साथ दिएका श्रेष्ठ पूर्वउपसभापति समेत हुन् । त्यसबेला देउवा जेलमा हुँदा श्रेष्ठले कार्यवाहक सभापति भएर पार्टी चलाएका थिए । तर, यसपटकको निर्वाचनमा समानुपातिकतर्फ जनजाति पुरुषमा पहिलो नम्बरमा रहेका श्रेष्ठ समानुपातिकबाट सांसद निर्वाचित भएनन् । त्यसयता श्रेष्ठ र देउवाबीचको सम्बन्ध चिसिएको छ । चुनाव लड्न चाहेका श्रेष्ठलाई देउवाले चुनावको कमाण्डर बनाएर समानुपातिकमा राखेका थिए । तर, समानुपातिकमा समेत नपाएपछि श्रेष्ठले राष्ट्रपतिमा दाबी गर्दै आएका छन् ।

अर्का नेता विश्वकर्मा पनि कांग्रेसका पूराना नेता हुन् । १४ औँ महाधिवेशनमा देउवा समूहबाट सहमहामन्त्रीमा पराजित भएका विश्वकर्मा ०७४ मा समानुपातिकबाट सांसद थिए भने त्यसअघि राज्यमन्त्री भइसकेका नेता हुन् । यसपटक भने समानुपातिकमा नहोहोर्‍याउने पार्टीको निर्णयका कारण उनी समानुपातिकमा समेत उम्मेदवार बन्न पाएनन् ।