सांसद चन्द्र भन्डारी – अख्तियारलाई प्रश्न- ‘रिङटोन’ बजाएर भ्रष्टाचार रोकिन्छ ?
काठमाण्डौ । कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन्।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले आयोगको कार्य सम्पादनमाथि नै प्रश्न उठाएका हुन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिमकार्डमा भ्रष्टाचार गर्नु अपराध हो भन्ने आवाज राखेको उल्लेख गर्दै त्यसरी आवाज सुनाउनुको ठाउँमा भ्रष्टचारीहरूको फाइल खोलेर कारबाही किन गर्न नसकेको भन्दै प्रश्न गरे । उनले आयोगलाई भ्रष्टाचारीमाथि अनुसन्धान गरी कारबाही गर्न कसले रोकेको हो भन्दै प्रश्न गरे। सांसद भण्डारीले नेपालका नाटक चलिरहेको टिप्पणी गरे ।
उनले भने, ‘बिहान हामीले मोबाइलमा सुन्छौँ, भ्रष्टाचार गर्नु अपराध हो, अख्तियार अनुसन्धान आयोग । अख्तियार अनुसन्धानले फाइल खोजेर थुन्नलाई कसले रोकेको छ र दूरी राखेर बस्छ । त्यो के हो ? यो नाटक, के नाटक, केका लागि नाटक ? त्यसैले हामीले हाम्रो संसद्लाई विभिन्न विषयहरूको छलफलको थलो बनाउनुपर्छ ।’ सांसद भण्डारीले संसद्लाई अबका दिनमा फरक तरिकाबाट जनमुखी नीति निर्माणको थलोको रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
सांसद अर्जुन नरसिह केसी- ‘महाभियोग’ प्रस्तावमा के भइरहेको छ ?
त्यस्तै प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै सभामुखसँग समय माग गरेर कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोगको प्रस्तावमा के भइरहेको छ भनी प्रश्न गरे । संसदमा भएका कानुन अर्को अधिवेशनमा निष्क्रिय हुने, तर महाभियोगका विषयमा संविधान र प्रतिनिधिसभा नियमावलीमा कुनै कुरा उल्लेख नभएकाले सर्वोच्चको अन्तरिम आदेशका आधारमा पेस गर्न सांसद केसीले माग गरे । अहिलेको जसरी महाभियोगलाई तरबार झुन्ड्याए जसरी राख्नु कानुनको उपहास र संविधानवादको विरुद्धमा भएकाले यसलाई टुंगोमा पुर्याउन उनले आग्रह गरे ।
कांग्रेसकै सांसद डा. प्रकाशशरण महतले नयाँबसपार्कमा सोमबार भएको घटनामा सरकारको ध्यानाकर्षण गराउँदै साना व्यवसायीको मोबाइललगायत पसलमा दिनदहाडै लुटपाट मच्चिँदा पनि सरकारले शान्तिसुरक्षा दिन नसकेको बताए । मिनीबस र बस व्यवसायीले कानुनअनुसार पार्किङ सुविधा पाउनुपर्ने र मजदुरका नाममा भएका गतिविधिका दोषीलाई छानबिन गरी कानुनी कारबाही गर्न उनले माग गरे । मजदुरका नाममा गैरमजदुर प्रवेश गरेर घटना भएको हो कि भनी उनले यथार्थ छानबिन हुनुपर्नेमा जोड दिए । यो घटनामा तत्काल परिणाम आउने गरी काम गर्न र यातायात मजदुरका जायज माग सम्बोधन गर्न पनि सांसद महतले आग्रह गरे ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संविधानमा कतै जनयुद्ध नलेखिएको भए पनि फागुन १ गते किन सार्वजनिक बिदा दिइयो भनी प्रश्न गरे । राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् यात्रामा यातायात अवरुद्ध गर्दा आफैँ दुई घन्टा जाममा फसेको उल्लेख गर्दै उनले जनतालाई दुःख नदिई यात्रा गराउनुपर्नेमा जोड दिए । रासायनिक मल अभाव हुन थालेकाले बेलैमा मल आउने वातावरण बनाउन पनि सांसद सुवालले माग गरे ।
जलविद्युत् आयोजनालाई राष्ट्रियकरण गरिनुपर्ने उनको भनाइ थियो । सरकारी क्षेत्रबाट सञ्चालित उद्योगलाई निजीकरण गरिँदा कपडालगायत सबै चिजबिजमा परनिर्भर हुनुपर्ने घटनाबाट पाठ सिक्न पनि सांसद सुवालले सरकारको ध्यानाकर्षण गराए ।