सत्ता गठबन्धन भत्किन सक्ने ओलीको अशंका : एमाले कतै लाग्दैन
काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किन सक्ने आशंका व्यक्त गरेका छन् । मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका हुन् । उनले संसदको बनावट अस्थिरताको कारक हुनेखालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शंका व्यक्त गरेका हुन् ।
ओलीले देशभित्र र बाहिरका शक्तिहरु देशलाई बर्बाद पार्न लागेका बताए। एमाले देशलाई बर्बाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै उनले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने बताए । उनले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरु भइरहेका बताए ।
‘अहिले साथीहरु काफी प्रसन्न भएको देख्छु म । हामीले पाँचदलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ। यो सफलताको कुरा हो । तर हाम्रा आमरुपमा पार्टीका साथीहरु प्रसन्न भएको देखिन्छ । प्रसन्न हुनुपर्छ। तर कथम् कदाचित यो स्थिति फेरियो भने? संसदको बनावट नै अस्थिरताको कारक हुने छ । बहुमत कसैको छैन’, उनले भने, ‘हाम्रो पार्टीसँग बहुमत छैन । हामीसँग बहुमत भन्दा निकै तल सिट छ । अनेक प्रकारका शक्तिहरु देश बर्बाद पार्न क्रियाशील छन् ।’
ओलीले सत्ता प्राप्तिका लागि लत्रिएर एमाले कसैसँग नमिल्ने पनि बताएका छन् । ‘सत्ता प्राप्ति र सत्ता टिकाउन राष्ट्रिय हित र गौरवलाई छोडेर लत्रिएर त्यसरी एमाले जाँदैन’, उनले भने,’एमाले राष्ट्रियताको साँचो र रक्षक पनि हो ।’
सत्ता प्राप्ति र टिकाउनका लागि एमाले कतै लाग्दैन
त्यस्तै अध्यक्ष केपी शर्मा ओलीले एमाले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिनिधि भएको दाबी गरेका छन् । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले सत्ता प्रात्तिका लागि लत्रिएर नजाने बताए । उनले भने, ‘सत्ता प्राप्ति र सत्ता टिकाउनका लागि राष्ट्रिय हित र गौरवलाई छोडेर लत्रिएर त्यसरी एमाले जाँदैन । राष्ट्रियताको साचो रक्षक हो यो ।’