रास्वपामा १६ जना केन्द्रीय सदस्य थपिए, तत्काल सरकारमा नजाने [सूचीसहित]
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा १६ जना केन्द्रीय सदस्य थपिएका छन् । यससँगै रास्वपामा केन्द्रीय समिति ४० सदस्यीय बनेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समितिको बैठकले थप १६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
रास्वपाको केन्द्रीय समितिमा मनोनीत हुनेहरूमा ज्वाला संग्रौला, रमेश प्रसाईं, बिन्दबासिनी कंसाकारलगायत रहेका छन् । ज्वाला संग्रौलाले आफूलाई अभियन्ताका रूपमा चिनाउँदै आएकी छिन् भने रमेश प्रसाईंले ग्यालेक्सी-४ के टेलिभिजनमा ‘लालमोहर’ नामक कार्यक्रम चलाउँथे । बिन्दबासिनी भने एसिड आक्रमणमा परेकी व्यक्ति हुन् । उनलाई रास्वपाले समानुपातिकतर्फको सूचीमा समेत राखेको थियो ।
त्यस्तै केन्द्रीय सदस्यमा मनोनीत अर्की सदस्य प्रतिभा रावल ग्यालेक्सी-४ केमा कार्यक्रम निर्माताका रूपमा कार्यरत थिइन् । त्यस्तै मेघ आले पर्यटन व्यवसायी हुन् । त्यस्तै बैठकले अभियान तथा प्रचारप्रसार, प्रवासी नेपाली सम्पर्क, प्रशिक्षण , संगठन, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्तालगायतका २२ वटा विभाग निर्माण गरी प्रमुख तोकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताए । सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग भएको सहमति तोडिसकेपछि आफू सरकारमा नबसेको स्पष्ट पारे ।
सत्तारुढ दलहरुले अझै सरकारमा आउन आग्रह गरे पनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभइ आफूहरु सरकारमा नजाने उनले बताए । ‘हामीले सरकारमा जाने वा नजाने भन्ने बारेमा धेरै छलफल गरेनौँ । किनभने एउटा सहमति कायम गरेर हामी सरकारमा गएका थियौँ र सहमति तोडिएको जस्तो आभाष भइसकेपछि हामी सरकारबाट बाहिरिएका हौँ । पुनः सहमति हुनसक्यो र जनताको काम गर्ने अवसर आए हामी जान पनि सक्छौँ,’ सहमहामन्त्री बुर्लाकोटीले बताए ।
केन्द्रीय समितिमा मनोनीत हुनेहरू
निशा मेहता
बिन्दबासिनी कंसाकार
रुपा शंकर
विजय जैरु
मेघ आले
मोहनबहादुर थापा,
खुस्बु सरकार श्रेष्ठ
टीका संग्रौला
हरि भट्ट
ध्रुव गिरी
लिमा अधिकारी
रमेश प्रसाईं
अर्जुन अधिकारी
क्रान्तिशिखा धिताल
प्रतिभा रावल
गोमा क्षेत्री