उच्चस्तरीय संयन्त्रको बैठक ३ बजे, राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिने

काठमाडौं : सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ। सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य किरण शर्माले जानकारी दिए ।

बुधबार बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएपछि आज संयन्त्रको बैठक बोलाइएको हो। आज सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले लिने विश्वासको मत, राष्ट्रपतिको उम्मेदवार, मन्त्रिपरिषद् विस्तार र समसामयिक राजनीति मुख्य एजेण्डा रहेका छन् ।

मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनुपर्ने अन्तिम दिन हो। रावलले पुस २७ गते मुख्यमन्त्री पदको शपथ लिएका थिए । तर, गठबन्धन दल नाउपा बिहीबार बिहानसम्म पनि अनिर्णीत छ। नाउपा अध्यक्ष रञ्जिता चौधरीले आफ्नो बटमलाइन रेशम चौधरीको रिहाइ भएको बताउँदै आएकी छिन् । नाउपा मत नदिए रावल नेतृत्वको सरकार ढल्नेछ । यस्तै गत पुष १० गते राष्ट्रपति एमालेले पाउने सहमति भएपनि माओवादी केन्द्रले राष्ट्रिय सहमति भन्दै कांग्रेस लगायत विपक्षदलसँग छलफल गर्ने बताएपछि गठबन्धनभित्र शंका उत्पन्न भएको छ । राष्ट्रपति पदको निर्वाचन फागुन २५ निर्धारण गरिएको छ ।

सरकारबाट रास्वपाका मन्त्रीले राजीनामा दिएपछि गृह, शिक्षा, श्रम मन्त्रालय प्रधानमन्त्री आफैँले जिम्मेवारी लिएका छन्। वन र खेलकुद मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्न बाँकी रहेको छ । नयाँ सत्ता समीकरणमा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, नाउपा, जनमत, जसपा छन् ।