राष्ट्रपतिको निर्वाचन फागुन २५ मा र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुने
काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने निर्णय गरेको छ । आयोगले सोमबार भएको बैठकले फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । ‘केही समयमा हामी निर्वाचन तालिका सार्वजनिक गर्दैछौं,’ थपलियाले भने । राष्ट्रपतिको निर्वाचन मितिमा घोषणा गर्न राजनीतिक दलहरुले माग गर्दै आएका छन् ।
राष्ट्रपति तथा उप राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसद मतदाता हुन्छन् । संघीय संसद र प्रदेश सांसदको मतभार भने फरक फरक हुन्छ ।
संवैधानिक राष्ट्रपति भएपनि विगतमा भएका महत्त्वपूर्ण राजनीतिक घटनाक्रममा निर्णायक भूमिका खेल्ने गरेका कारण प्रमुख राजनीतिक दल यो पद आफ्नो पक्षमा पार्न चाहान्छन् । कुनैपनि दलको स्पष्ट बहुमत नभएको अवस्था राष्ट्रपति को हुन्छन भन्ने विषय अहिले राजनीतिको परिस्थितिमा पेचिलो विषय बन्न पुगेको छ ।
राष्ट्रपतिको लागि उम्मेदवारी मनोनयन दर्ता फागुन १३ गते
त्यस्तै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताउनुभयो । उहाँले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्ने गरी आवश्यक तयारी गर्ने प्रयास गरे पनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने बताउनुभयो ।
प्रवक्ता पौडेलले राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन फागुन १० गते, दाबी, विरोध, उजुरीलगायतका काम १० र ११ गते, निवेदन तथा उजुरी उपर छानबिन गर्ने ११ र १२ गते गर्ने कार्यतालिका रहेको जानकारी दिनुभयो । यसैगरी, अन्तिम मतदाता नामावली फागुन १२ गते प्रकाशन गर्ने र १३ गते उम्मेदवार मनोनयन दर्ता कार्यतालिका रहेको आयोगले जनाएको छ ।
त्यस्तै, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते साँझ, उम्मेदवारको विरुद्धमा उजुरी दिने १४ गते, मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते साँझ, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गते साँझ र मतदान गर्ने २५ गते रहेको आयोगले जनाएको छ ।
उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने भएको छ । प्रवक्ता पौडेलले मतदाता नामावली प्रकाशित गर्ने कामलगायतका कामलाई राष्ट्रपतिकै कामलाई गरेकोबाट निरन्तरता दिने बताउनुभयो । उहाँका अनुसार उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता फागुन २७ गते, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशित गर्ने सोही दिन २७ गते नै छ । उम्मेदवारको विरोधमा उजुरी दिने सोही दिन, मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने २८ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने फागुन २८ गते छ ।
प्रवक्ता पौडेलले आयोगले संविधानको मर्म र भावलाई समातेर पाँच वर्षको अवधि नघट्ने गरी तादात्म्य मिलाउनका लागि आयोग लागेको बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २८ गतेबाट सकिँदैछ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिसँगै निर्वाचन तालिकासमेत सार्वजनिक गरिएको छ ।