राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं, माघ ९ गते । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले डा. श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हाे । आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्षमा नियुक्त डा. श्रेष्ठलाई आजै पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उहाँलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । यसअघि पनि डा. श्रेष्ठले उपाध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएको छ ।

उपसभामुख रानाले आज शपथ लिँदै

काठमाडौँ — नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज साँझ ५ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएकी छन् । रानाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्नेछिन् ।

प्रतिनिधिसभाको उपसभामुखमा शनिबार निर्वाचित भएकी राना समाज सेवामा क्रियाशील रहेकी थिइन् । उनी राजनीतिमा आएको छोटो समयमै प्रतिनिधिसभा सदस्य हुँदै उपसभामुख बनेकी हुन् । मत विभाजन गराउँदा रानामगरको पक्षमा १ सय ६६ र विपक्षमा ९७ मत परेको थियो । एक सांसद भने तटस्थ बसेका थिए ।

झापाको अर्जुनधारा नगरपालिका–११ स्थित देउनिया बस्तीकी रानामगर समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिएकी हुन् ।