शपथ लिए लगत्तै सभामुख देवराज घिमिरेले पदभार ग्रहण

काठमाडौं। नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सभामुख घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको थियो । एमालेका नेता रहेका घिमिरे सत्तारुढ दलको समर्थनमा सभामुखमा निर्वाचित भएका हुन् ।

शपथ ग्रहणपछि उनी लैनचौरस्थित शहीदको शालिकमा माल्यार्पण गर्न जाने र त्यसपछि पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

सभामुख घिमिरेले गरे पदभार ग्रहण

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् । शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले संसद्लाई थप व्यवस्थित, क्रियाशील र मर्यादित बनाउन प्रयत्न गर्ने बताए । सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरूका लागि संसदीय अभ्यास र प्रक्रियासम्बन्धी अन्तर्क्रिया कार्यक्रम गर्ने पहिलाे निर्णय गरेका छन् ।

बिहीबार भएको निर्वाचनमा एक सय ६७ मत ल्याएर घिमिरे सभामुखमा विजयी भएका थिए । संसदमा उपस्थित दुई सय ६८ सदस्यमध्ये कांग्रेसका उम्मेदवारको पक्षमा सय मत पर्दा एकजना तटस्थ बसेका थिए ।