
बहराइनको प्रतिष्ठित इशा एवार्ड डा सन्दुक रुइतलाई
दोहा – डा. सन्दुक रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड प्रधान गरिने भएको छ। इसा अवार्ड फर सर्भिस टु ह्युम्यानिटीले यस अवार्डको पाँचौं संस्करणको विजेता घोषणा गर्न इसा कल्चरल सेन्टरमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेको थियो । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ स्थापित इसा अवार्ड मानवसेवा क्षेत्रमा तथा मानवीय कार्यमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई हरेक दुई वर्षमा प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार हो ।
इसा अवार्ड सेर्विस टु ह्युम्यानिटी २०२१ -२०२२ बाट नेपालका प्रख्यात नेत्ररोग विशेषज्ञ तथा मानवसेवाकर्मी डा. रुइत सम्मानित हुनेछन् । बहराइनका राजाका विशेष प्रतिनिधि तथा इशा अवार्ड बोर्डका अध्यक्ष हिज हाइनेस शेख मोहम्मद विन मुवारक अल खालिफाले मनामास्थित ईशा सांस्कृतिक केन्द्रमा आयोजित सार्वजनिक घोषणा समारोहमा ईशाअवार्डको पाँचौं संस्करणको लागि डा. रुइत विजयी भएको घोषणा गरेका थिए ।
इशा अवार्ड सचिवालयले अवार्डका लागि प्राप्त मनोनयनहरुमध्येबाट छनोट चरणका विभिन्न प्रक्रिया र मूल्याङ्कनबाट विजयी छनोट गरेको हो । मानवीय सेवाको क्षेत्रमा आँखा उपचारलाई नवीन प्रविधि विकास, गुणस्तरीय, प्रभावकारी र पहुँचयोग्य बनाउन उनले पुर्याएको विशिष्ट योगदानको निम्ति योग्य ठहरिएका हुन् ।
डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात् १३ करोड नेपाली रुपैयाँ भन्दा बढी हात पार्ने छन् । इसा अवार्ड फर सर्भिस टु ह्युम्यानिटीका महासचिव अली अब्दुल्लाह खलिफाका अनुसार विश्वभरका १४५ जना उम्मेदवारहरूले पाँचौं सत्र २०२१-२०२२ मा अवार्डका लागि आवेदन दिएका थिए ।
अवार्ड आउँदो महिना बहराइनमा विशेष कार्यक्रम गरेर प्रदान गरिने छ ।
इसा अवार्ड पाउँदा जीवनको एउटा तपस्या सफल भएको ठानेँ : डा. सन्दुक रुइत

३५ वर्षदेखि आँखा उपचार गरिरहेका डा. सन्दुक रुइतको नाम नसुन्ने सायदै कोही होलान्। आँखाको ज्योति गुमाएका एक लाख ८८ हजारलाई सुन्दर संसार देखाउन सफल यी डाक्टरलाई मंगलबार विश्वप्रसिद्ध इसा अवार्डले सम्मान गर्ने घोषणा गरियो । बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ का लागि १ सय ४९ संस्थाको नाम छानिएको थियो । तर, १० लाख अमेरिकी डलर (१३ करोड रुपैयाँ) को अवार्ड डा. रुइतले पाए ।
अवार्ड घोषणा हुँदा सुरुमा उनलाई विश्वास लागेन। तर, जब उनी विश्वस्त भए, त्यसपछि खुसीले छटपटिन थाले । खबर कसलाई सुनाउँ, के गरौँ भयो । आफूलाई पूर्ण रुपमा आँखा उपचारको क्षेत्रमा समर्पित गरेका उनलाई जिन्दगीभरिको तपस्या फलिभूत भएको महसुस भयो । उनलाई लाग्यो, ‘मेरो एकोहोर काम गराइलाई संसारले नियालेर हेरेको रहेछ ।’ यो अवार्डले एउटा नेपालीले यस्तो काम पनि गर्दो रहेछ भनेर चिनाएको उनी बताउँछन् । विश्वसामु नेपालीको आत्मसम्मान र प्रतिष्ठानलाई केही माथि उठाउन यस अवार्डले सहयोग गर्ने उनको धारणा छ । उनी यो आवार्डलाई आफ्नो जीवनकै कमाइ ठान्छन् । तर, आफूले जति मेहनत विदेशीले गरेको भए उसले पहिले नै अवार्ड जितिसक्ने समेत उनले बताए ।
‘नेपाली भएकाले नै अवार्ड पाउन यत्रो समय लाग्यो,’ उनले भने, ‘विश्वसामु अन्धोपन निवारणमा नेपाल अब्बल छ भन्ने कुरामा कुनै द्विविधा नरहेको कुरालाई यसले सावित गरिदिएको छ ।’ इसा अवार्डका लागि आफ्नो नाम पनि छनोट भएको केहीअघि सुइँको पाएको पनि उनले बताए । ‘यो कुनै सानोतिनो अवार्ड होइन, यसले नेपालको चिनारी र आत्मसम्मानलाई कति माथि लगेको छ भनेर बुझ्न आवश्यक छ,’ उनले भने । ‘म हेरिरहेको छु, राज्यले मलाई कसरी रेस्पोन्स गर्छ,’ उनी भन्छन् ‘यो निकै रोचक कुरा हो। अर्को हप्तासम्म वा केही समय कुरौँ ।’ अझै पनि आँखा उपचारको पहँुच नपुगेका ठाउँमा सेवा पुर्याउन निरन्तर प्रयास गरिहेको उनले बताए । नेत्र उपचार सेवालाई नाफारहित बनाएर लैजाने यो सुनौलो अवसर पनि भएको उनी बताउँछन् ।
उनले विश्वभर आँखाको शल्यक्रिया शिविर चलाइरहेका छन्। जसअन्र्तगत नेपालमा १२ महिनाभित्र २५ हजार जनाको आँखाको शल्यक्रिया गरिसकिएको छ। अब इन्डानेसिया र लाओसमा शिविर सञ्चालन गर्ने योजना रहेको उनले सुनाए ।
‘जिम्मेवारी थपियो’
आवार्डका लागि डा. रुइतको नाम घोषणा भएसँगै आफूमाथि थप जिम्मेवारी थपिएको उनले महसुस गरेका छन् । नेपालका पँहुच नपुगेका ठाउँमा आँखाको स्तरीय सेवा सर्वसुलभ बनाउन अझै खट्ने उनले बताए । त्यस्तै, नेपालमा डा रुइतको टिमले बनाइरहेको आँखाको लेन्स अहिले वर्षमा तीन लाख जति विदेश पठाइन्छ । तर अब त्यसलाई बढाएर वर्षमा १० देखि १५ लाख पठाउने योजना उनको छ ।
‘जसरी आफूले पाएको अवार्डबाट मेरा बिरामी, नेपालका जनसाधारणले खुसी समेटेका छन्, त्यसरी के राज्यले खुसी समेट्न सक्छ?’ उनले भने, ‘अहिलेसम्म मैले देखेको छैन र यदि सक्यो भने यसलाई कसरी रेस्पोन्स गर्छ मैले हेर्नै बाँकी छ।’
अवार्डमा पाएको रकम कहाँ खर्च गर्ने भन्नेबारे अहिले नै योजना नभएको उनले बताए ।