मन्त्रिपरिषद् विस्तारका लागि बालुवाटारमा छलफल बाक्लियो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे । उक्त भेटमा मन्त्रालय भागबण्डामा करिब करिब सहमति भएको बालुवाटार स्रोतले जानकारी दिए ।

प्रधानमन्त्र प्रचण्डले आजै सम्पादकहरूसँग अन्तर्क्रियामा पनि सकेसम्म भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्ता गर्ने दाबी गरे । लगत्तै प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन्। बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीले सत्तारुढ दलका नेताहरूसँग मन्त्रीको नामावलीसमेत मागेका छन् । गृहमन्त्री लामिछानेसँगको भेटमा पनि प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन मन्त्रीको सूची मागेको स्रोतको भनाइ छ । यद्यपि रास्वपाले आफूहरुले कम्तिमा चार मन्त्रालय पाउनुपर्ने अडान छाडेका छैनन्। यिनै विषयमा केन्द्रित भएर दुईबीच छलफल भएको स्रोतले जनाएको छ ।

सत्तारुढ दलहरूमा पनि मन्त्रीका आकांक्षी धेरै भएकाले प्रधानमन्त्री प्रचण्डसँग दलका नेताहरूले समय माग गरेको बताइएको छ । ‘प्रधानमन्त्रीजीले सकेसम्म छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ भनिरहनुभएको छ । तर सत्तारुढ दलको आन्तरिक विवादका कारण कसैले पनि सूची दिन सकेको छैन,’ माओवादीका एक नेताले भने। सबै दलबाट सूची आए भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुनसक्ने उनको भनाइ छ ।

प्रचण्डले मन्त्रिपरिषद्‍बाहेक सभामुख र राष्ट्रपतिको निर्वाचनबारे पनि छलफल गरिरहेका छन् । कांग्रेसबाट समेत विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकमा विश्वासको मत दिने हलहरूलाई समेटेर सभामुख र राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न खोजेका छन् ।सम्पादकहरूसँग भेटमा पनि उनले ३ गते बस्ने सर्वदलीय बैठकमा कांग्रेसलाई पनि बोलाइने र सभामुख र राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा छलफल गर्ने बताए । प्रचण्डको यस प्रस्तावमा भने एमालेले आपत्ति जनाउँदै आएको छ ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले विश्वासको मत पाएको पाँचौं दिने बिते पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा आलोचित भइरहेका छन् । अहिले सरकारमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने र विना विभागीमन्त्री राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारी र अब्दुल खान छन् ।