जंगी अड्डा पुगेका जर्नेल शाही सैनिक प्रहरीको हिरासतमा

काठमाडौँ — नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अनुशासन विपरीत काम गरेको अरोपमा सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले मंगलबार उपरथी शाहीलाई संगठन विपरीत गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिएर सैनिक प्रहरीको हिरासतमा राखेको छ । उमेर हदका कारण शाही बुधबार (पुस २०) बाट नियमित अवकासमा जाँदै थिए । शाहीले सेनाबाट अवकासको पत्र पनि बुझिसकेका थिए । तर आफ्नो वास्तविक उमेरभन्दा १ वर्ष बढी कायम गरिएको भन्दै शाही सैनिक मुख्यालय र रक्षा मन्त्रालयको निर्णयविरुद्ध दुई पटक सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतले यही पुस १३ मा शाहीको पक्षमा अन्तरिम आदेश जारी गर्दै जंगी अड्डाको अवकासमा पठाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि शाही मंगलबार नियमित कामको लागि जंगी अड्डा पुगेका थिए । लगत्तै सैनिक प्रहरीको टोलीले शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

सैनिक प्रवक्ता कृष्ण भण्डारीले उपरथी शाही सैनिक प्रहरीको अनुसन्धानमा रहेको बताए । भण्डारीका अनुसार शाहीलाई अहिले स्वास्थ्य परिक्षणको लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको छ । ‘स्वास्थ्य परिक्षणपछि उपरथी शाहीलाई अस्पतालमै राखेर वा सैनिक मुख्यालय ल्याएर अनुसन्धान सुरु गर्ने भन्ने विषय चिकित्सकको सल्लाह अनुसार हुन्छ,’ उनले भने । प्रवक्ता भण्डारीले उपरथी शाहीलाई अनुसन्धान पूरा नभएसम्मका लागि सैनिक मूख्यालयमै राखिने बताए ।