जनचाहनाविपरीत टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ बन्दैन : उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहनाविपरीत टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ नबनाइने बताएकी छिन् । सोमबार अकुपाई टुँडिखेल अभियानले टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएकी हुन् ।

उनले अन्डरग्राउन्ड पार्किङ टुँडिखेलमा आवश्यक हो वा होइन भन्नेबारेमा स्थानीयवासीको सुझाव लिएर मात्रै काम अघि बढाइने आश्वासन दिएकी छिन् । धरहरा, काठमाडौं प्लाजालगायतमा सञ्चालन हुने अन्डरग्राउन्ड पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नपर्ने उनको भनाइ छ । ‘धरहरा, काठमाडौं प्लाजालगायतमा सञ्चालन हुने अन्डरग्राउन्ड पार्किङले सबै समस्या समाधान गर्छ भने नयाँ संरचना बनाउनै पर्दैन। जनताको चाहनाविपरीत कुनै पनि निर्माण काम हुनुहुँदैन । सर्वसाधारणको सुझावविना महानगरले कुनै काम गर्नेछैन,’ उनले भनिन् ।

गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १०औँ कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेन्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको थियो । महानगरको उक्त निर्णयलाई लिएर विवाद हुँदै आएको छ ।

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना विरुद्ध प्रदर्शन

काठमाडौं महानगरपालिकाको खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोधमा प्रदर्शन गरिएको छ । संरक्षण अभियन्ता र स्थानीय बासिन्दाले सोमबार काठमाडौं महानगर कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन आग्रह गरेका छन् ।

यसको विरोधमा उनीहरूले महानगरकी उपमेयर सुनिता डंगोललाई ज्ञापनपत्र बुझाएका छन् । मेयर बालेन्द्र साह (बालेन)ले भेट्न अस्वीकार गरेपछि उनीहरूले उपमेयर डंगोललाई ज्ञापनपत्र बुझाएका हुन् ।