सरकारले पाँच दिनभित्रमा साझा कार्यक्रम ल्याउने, संयोजक ओली
काठमाडौँ — सत्ता साझेदार राजनीतिक दलहरूको बिहीबारको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन गरेको र त्यसको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन् ।
प्रत्येक दलबाट उक्त समितिमा १-१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिने गृहमन्त्री लामिछानेले जानकारी दिए । उनले मन्त्रिपरिषद् विस्तारका विषयमा पनि सामान्य छलफल भएको बताए । उनले मन्त्रिपरिषद्मा क्षमताका आधारमा सांसदहरूलाई जिम्मेवारी दिने बताए । मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको उनको भनाइ थियो ।
मन्त्रिपरिषद् विस्तार हुन समय लाग्नसक्ने मन्त्री लामिछानेको भनाइ थियो । संसदबाट विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल रहेको बताइएको छ । त्यस्तै, प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकार गठनबारे पनि दलहरूबीच छलफल भइरहेको बताइएको छ ।
ओली नेतृत्वको कार्यदलको बैठक भने भोलिदेखि नै हुने लामिछानेले जानकारी दिए । प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले १० र माओवादीले ७ मन्त्रालयमा दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाको ३–३ तथा जनमत पार्टीको २ मन्त्रालयमा दाबी छ । सरकारमा सहभागी हुँदा राप्रपाले ३ र नागरिक उन्मुक्तिले २ मन्त्रालयमा दाबी गर्ने जनाउ दिएका छन् । तीन स्वतन्त्र सांसदले पनि एक/एक मन्त्रालय लिने बताएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।