चार्ल्स शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइयो
काठमाडौँ — हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ । सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त भएसँगै उनलाई कारागारबाट अध्यागमन विभाग पुर्याइएको हो । आवश्यक कानुनी प्रक्रिया सकेर उनलाई पुनः नेपाल आउन नपाउने गरी फ्रान्सलाई प्रत्यर्पण गरिने गृह मन्त्रालयका एक अधिकारीले बताए ।
नेपालमा अपराध गरेका विदेशी नागरिकलाई समय तोकेरै नेपाल फर्कन रोक लगाउन सक्ने अधिकार विभागसँग छ । त्यसको प्रयोग गरेर शोभराजलाई आउनै नपाउने गरी डिपोर्ट गर्न लागिएको हो । विभागले यस विषयमा गृह मन्त्रालयसँग पनि राय लिएको थियो । गृहले कानुनमा भएको अधिकार प्रयोग गरेर आवश्यक निर्णय लिन निर्देशन दिएको छ । ‘कारागारले अध्यागमनको जिम्मा लगाएपछि कानुनी र कागजी प्रक्रिया पूरा गरेर पुनः नेपाल आउन नपाउने गरी डिपोर्ट गर्ने तयारी भइरहेको छ, यसबारे नेपालस्थित फ्रान्सेली दूतावासका अधिकारीसँग पनि समन्वय भएको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो ।
अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेले कारागारको पत्र अध्ययनपछि डिपोर्टको प्रक्रिया अघि बढ्ने बताए । ‘अध्यागमन कानुनमै यस विषयमा स्पष्ट व्यवस्था छ, त्यहीअनुसार निर्णय लिन्छौं,’ पाण्डेले कान्तिपुरसँग भने । शोभराजले १० दिन गंगालाल अस्पतालमा बसेर उपचार गराउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
राजनीतिक गुटबन्दीका कारण चार्ल्स शोभराजको रिहाइ ढिला भयो : निहिता विश्वास
काठमाडौँ — कानुनविद् निहिता विश्वासले चार्ल्स शोभराजको रिहाइ यसअघि नै हुनुपर्नेमा राजनीतिक गुटबन्दीका कारण अहिलेसम्म कुर्नुपरेको बताएकी छन् । राजनीतिक दलहरूले विभिन्न अध्यादेशहरू ल्याएर आ-आफ्ना मान्छेहरूको मात्र रिहाइ गर्न खोजेकाले शोभराजको रिहाइमा अहिलेसम्म कुर्नुपरेको उनले बताइन् ।
शुक्रबार अध्यागमन विभाग अगाडि पत्रकारहरूसँग कुरा गर्दै विश्वासले शोभराजले ५ वर्षअघि नै सफाइ पाउनुपर्नेमा ढिला भएको बताएकी हुन् । ‘यसअघि मिडियाका कारण अदालतलाई निर्णय लिन गाह्रो भएको थियो । ५ वर्षअघि नै यो निर्णय हुनुपर्ने थियो‚’ उनले भनिन् । मुटुको रोग लागेर निधन हुन सक्ने भएकाले सर्वोच्चले सबै कुरा बुझेरै सफाइ दिएको भन्दै उनले शोभराजलाई केन्द्रीय कारागारबाट सिधै फ्रान्स पठाउनू भन्ने आदेश भएको दाबी गरिन् ।
अझै कुनै विलम्ब नभए आजै शोभराजलाई फ्रान्स पठाउने उनले बताइन् । सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुँदै छन् । केन्द्रीय कारागारको गोलघरमा रहेका उनलाई शुक्रबार कैद मुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ । नेपालमा अपराध गरेका विदेशी नागरिकलाई समय तोकेरै नेपाल फर्कन रोक लगाउन सक्ने अधिकार विभागसँग छ । त्यसको प्रयोग गरेर शोभराजलाई आउनै नपाउने गरी डिपोर्ट गर्न लागिएको हो ।