ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि शपथ ग्रहण हुने, पशुपति शमशेरले शपथ खुवाउने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपतिशमशेर जबराले भोलि बुधबार १ बजे शपथ लिँदै हुनुहुन्छ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहणका लागि नागरिकतामा उल्लेख भएको जन्ममितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमबार पठाएको थियो ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले गोरखापत्र अनलाइनसँग कुरा गर्दै भन्नुभयो, ‘‘सङ्घीय संसद् सचिवालयबाट ज्येष्ठ सदस्यको नाम सिफारिस भएर हिजो सोमबार आएको छ, भोलि बुधबार दिनको १ बजे उहाँको शपथ ग्रहणको तयारी गरिएको छ ।’’ ज्येष्ठ सदस्यको शपथग्रहण संक्षिप्त हुने र आमन्त्रित गर्नुपर्ने विशिष्टि व्यक्तित्वका बारेमा छलफल भइरहेको छ । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार, राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ गराएपछि अन्य सदस्यको शपथ गराउने तयारी सचिवालयले गर्नेछ ।
यसैबीच, सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गर्नुभएको अत्यन्त जरुरी सूचनामा अन्य प्रतिनिधि सभाका सदस्यको निर्वाचन बिहीबार दिनको १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भएको छ । शपथ ग्रहण भाग लिने सांसदहरूले बिहान ११ बजे नै निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकता र पासपोर्ट साइजका दुई वटा तस्बिर लिएर सम्मेलन केन्द्र पुग्नुपर्नेछ । साथै राष्ट्रिय पोशाक र आ–आफ्नो सांस्कृतिक पहिचान पोशाकमा आउन सांसदहरूलाई आग्रह गरिएको छ । आफ्नै मातृभाषामा शपथ लिन चाहने सांसदले शपथको व्यहोरा आफ्नो भाषामा अनुवाद गरेर लिएर जानुपर्नेछ ।
प्रतिनिधि सभा प्रत्यक्षबाट निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० जना गरी २७५ सदस्यीय छ । ज्येष्ठ सदस्यलाई सभामुख निर्वाचित नभएसम्म सदन सञ्चालन गर्नुपर्ने जिम्मेवारी रहन्छ ।
पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ खुवाउने
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले नव निर्वाचित सांसदहरुलाई शपथ खुवाउने भएका छन् । निर्वाचित सांसदमध्ये जबरा जेष्ठ सदस्य भएकाले प्रतिनिधिसभाका सांसदहरुलाई शपथ खुवाउने निर्णय भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अन्नपूर्णलाई जानकारी दिए । उमेरका हिसाबले जबरा ८० वर्षका भए। उनको जन्ममिति वि.सं. १९९८ वैशाख २५ रहेको छ ।
उनले भने,’ निर्वाचन आयोगले पठाएको २७५ सांसदहरुको विवरणमा राप्रपाका सांसद पशुपति शमशेर जबरा जेष्ठ सदस्य देखिएनु भएको छ। उहाँले नै अन्य सांसदलाई पुस ७ गते शपथ खुवाउनुहुनेछ।’ निर्वाचित सांसदमध्येका जेष्ठ सदस्यले शपथ खुवाउने प्रावधान छ। जबराले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि अन्य सांसदहरुलाई शपथ खुवाउनेछन् । पशुपतिशमशेर समानुपातिक सांसद हुन् ।
यसअघि महिन्द्र यादव, चित्रबहादुर केसी र पशुपति शमशेर जबरामध्ये को ज्येष्ठ सदस्य भन्ने प्रश्न उठेको थियो। त्यसपछि जेष्ठ सदस्यको टुंगो लगाउन सचिवालयले निर्वाचन आयोगसँग नवनिर्वाचित सांसदहरुको जन्ममितिसहितको विवरण मागेको थियो। सोही विवरणका आधारमा संसद सचिवालयले जेष्ठ सदस्यको टुंगो लगाएको हो ।
यसअघि २०७४ सालको प्रतिनिधिसभामा यादव उपस्थित नभएपछि सांसदलाई महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ गराएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ४ मा सम्पन्न निर्वाचनमा राजनीतिक दलहरुले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते बेलुका ५ बजेभित्र दावी पेश गर्न आह्वान गरेकी छन् । सोहीअनुसार पुस ७ गते सांसदहरुको शपथ हुन लागेको हो ।