सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की जम्मा ११२ मतान्तरले निर्वाचित
सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की एक सय १२ मतान्तरले निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जगदीशप्रसाद कुसियतलाई पराजित गर्दै सञ्चारमन्त्रीसमेत रहेका कार्की निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।
उनका अनुसार कार्कीले ३० हजार चार सय ८३ मत प्राप्त गर्दा कुसियतले ३० हजार तीन सय ७१ मत पाए। सुरुवाती अग्रता कार्कीले लिए पनि गणना अवधिभरिमा दुवै उम्मेदवारले एकपछि अर्को गर्दै अग्रता लिएका थिए। गत शनिबार निर्वाचन अधिकृतको कार्यालयले एमालेलाई ६०६ मत थप गरेर गणना सार्वजनिक गरेपछि कार्कीले मतगणना रोक्न माग गरेका थिए। पछि सर्वदलीय बैठकमा पनि विवाद उत्पन्न भएपछि अन्ततः निर्वाचन आयोगको निर्देशनअनुसार बाँकी मत गणना भएको हो।
नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका कुसियत ०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। उनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत थिए। कार्की ०७४ सालमा भोजपुरबाट सुनसरी आएर निर्वाचित भएका थिए ।
स्याङ्जा २ मा मतान्तर बढाउँदै धनराज गुरुङ
स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना जारी छ। चुनाव सकिएको १० दिनपछि सुरु भएको यहाँको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । मुख्य निर्वाचन अधिृकत कार्यालका अनुसार कांग्रेस उपसभापति समेत रहेका गुरुङले ४ हजार ५ सय ९० मत प्राप्त गरेका छन्। गुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा कुमारी अर्यालले ३ हजार ४ सय ५५ मत प्राप्त गरेकी छिन्।
उनीहरुबीच ११३५ मतको अन्तर छ । बुधबार राति ९ बजेबाट यहाँको मतगणना सुरु भएको हो । स्याङ्जा–२ मा मतदानमा धाँधली भएको भन्दै मतगणना रोकिएको थियो। स्थलगत अनुगमन र अनुसन्धानपछि निर्वाचन आयोगले मतगणना अघि बढाउने निर्णय गरेको हो ।