स्वार्थसहितको गठबन्धन नभएर देशलाई राष्ट्रिय शक्ति चाहिएको छ : ओली

सिन्धुली — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेको निर्वाचनमा सत्ता गठबन्धनलाई आफूहरूले सजिलै पराजित गर्ने दाबी गरेका छन् । कांग्रेस, माओवादी लगायतको गठबन्धन विकास विरोधी र स्वार्थसँग जोडिएको भन्दै त्यसलाई जनताले पराजित गर्ने ओलीले दाबी गरे ।सिन्धुलीको दुधौलीमा सोमबार आयोजित आमसभामा मेचीदेखि महाकालीसम्म देस विकास गर्न बलियो सरकार चाहिएकाले एमालेलाई मत दिनुपर्ने ओलीको आह्वान थियो । मुलुकले विकासको एउटै अभियान र नीति लिएर हाक्नसक्ने नतृत्व खोजेको र त्यो आफ्नो पार्टी र आफूले पूर्ति गर्ने ओलीको जिकिर थियो ।

‘लोक कल्याणकारी राज्यको अवधारणा अनुरुप जनतालाई सेवा सुविधा पुर्‍याउन जेष्ठ नागरिकलाई हेर्ने कुरामा होस्, महिलालाई हेर्ने कुरामा होस् अथवा बालबालिका, किशोर किशोरी, युवा र मजदुर किसानहरूको सम्बन्धमा हामीले कसरी काम गर्छौं भन्ने कुराहरूमा यहाँहरुले देख्नु भएको छ,’ उनले भने ‘हामीले घोषणापत्र जारी गरेका छौं । यस निर्वाचनमा ४० वटा काम ग्यारेन्टी भनेका छौं ।’

देशलाई विभिन्न स्वार्थ जोडिएकाहरूको गठबन्धन नभई एउटा राष्ट्रिय शक्ति चाहिएको उनको भनाइ थियो । ‘जसले देशको राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता आदि कुराको रक्षा गर्न सक्छ,’ उनले भने, ‘देशको राष्ट्रिय हितको रक्षा गर्न सक्छ र स्वाभिमानलाई माथि उठाउन सक्छ । त्यस्तो राष्ट्रिय शक्ति चाहिएको छ ।’ देशलाई विकासको अभियान लैजान पनि जरुरी रहेको उनको भनाइ थियो । चितवनको कार्यक्रम सम्पन्न गरी हेलिकप्टरबाट सिन्धुली पुगेका ओलीले ‘अत्यन्तै ढिलो’ भएको भन्दै १० मिनेट मात्र बोलेका थिए ।