राप्रपाको घोषणापत्र : ०४६ पछिका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने (घोषणापत्रसहित)

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने व्यवस्था गर्ने प्रस्ताव अघि सारेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौंको थापागाउँमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने कानुनी व्यवस्था गर्ने विषय समेटिएको बताए ।

यस्तै, राप्रपाले नेपाल बन्द कहिलै नगर्ने प्रतिवद्धता जनाएको छ । जेष्ठ नागरिकलाई निशुल्क यातायातको व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ । नेपालको भू-भाग कसैलाई प्रयोग गर्न नदिने, सीमा विवाद कुटनीतिक ढंगबाट टुंग्याइने, सार्वजनिक खर्च प्रणालीलाई मितव्ययी बनाइने उल्लेख छ ।

राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने बताएको छ । घोषणापत्रमा सार्वजनिक संस्थाको पुर्नसंरचना गरिने, व्यापारिक घाटा कम गरिने, विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति शिक्षामन्त्री सहकुलपति हुने व्यवस्थाको अन्त्य गरिने उल्लेख छ ।

बुढानीलकण्ठ स्कुललाई सातै प्रदेशमा नमूना विद्यालयका रुपमा विस्तार गरिने, प्रत्येक स्थानीय तहमा बेरोजागारका लागि सिपमुलक तालिम, आधारभूत स्वास्थ्य निशुल्क र अनिवार्य, सबै नागरिकलाई स्वास्थ्य विमाको दायरामा ल्याइने र सबै अस्पतालमा बिमितको उपचार गरिने विषय घोषणापत्रमा समेटिएको छ ।