आयोगले सार्वजनिक गर्यो समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची (सुचीसहित)
काठमाडौँ — आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । जसअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ हजार १ सय ९९ जना उम्मेदवार रहेका छन् ।
यसैगरी प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ को लागि ६ सय १६ जना, मधेश प्रदेशको लागि ८ सय ६३ जना, वाग्मती प्रदेशको लागि ७ सय ५४ जाना, गण्डकी प्रदेशको लागि ३ सय ४४ जना, लुम्बिनी प्रदेशको लागि ५ सय ७९ जना, कर्णाली प्रदेशको लागि २ सय जना र सुदूरपश्चिम प्रदेशको लागि ३ सय ५२ जना उम्मेदवारहरू रहेका छन् ।
आयोगले राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीको जाँचबुझ गरी प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको नाम समावेश भएको अन्तिम बन्दसूची बुधबार प्रकाशन गरेको छ ।
समानुपातिकतर्फ दलहरुले पेस गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५ सय ५० जना व्यक्तिहरुको नाम आयोगले यसअघि नै सूचीबाट हटाइसकेको छ । दलहरूले पेस गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा गरी ६ हजार ४ सय ५७ जना उम्मेदवारहरू छन्।
उम्मेदवारहरूको नामावली निर्वाचन आयोगले आफ्नो वेबसाइटमा प्रकाशन गरेको छ ।
प्रदेशसभा समानुपातिकतर्फ कांग्रेसका ३, माओवादी र नेकपा एसका ११-११ जनाको उम्मेदवारी खारेज (सूचीसहित)
काठमाडौं । प्रदेशसभाको समानुपातिक उम्मेदवारका लागि पेस भएको बन्दसूचीबाट नेपाली कांग्रेसका ३ जनाको उम्मेदवारी खारेज भएको छ । ७ वटै प्रदेशसभामा लागि पेस भएको बन्दसूचीबाट साधना बिसी (विश्वकर्मा) को उमेर नपुगेका कारण, मोहम्मद सईद खाँको बन्दसूची र मतदाता नामावलीमा लैंगिक पहिचान फरक परेको र अंशुकुमारी सिंहको मतदाता नामावलीमा नाम नभएका कारण हटाइएको निर्वाचन आयोगले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) बाट बन्दसूची पेस भएका मध्येबाट ११ जनाको नाम हटेको छ । जसमा ८ जनाले जरिबाना नबुझाएको, दुईजनाको बन्दसूची र मतदाता नामावलीमा लैंगिक पहिचान फरक परेको, एकजना दोहोरो उम्मेदवार परेको पाइएको छ । नेकपा (एकिकृत समाजवादी) बाट पनि ११ जना अयोग्य पाइएका छन् । जसमा ९ जनाले आयोगबाट लागेको जरिबाना नबुझाएका कारण र एकजनाको उमेर नपुगेका कारण निर्वाचन आयोगले खारेज गरेको हो ।
जनता समाजवादी पाटी (जसपा) नेपालका १३ जनाको नाम खारेज भएको छ । उनीहरूमध्ये जरिबाना नबुझाएका १० जना र तीनजनाको सम्बन्धित प्रदेशको मतदाता नभएको पाइएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको १८ जनाको उम्मेदवारी खारेज भएको छ । जसमा १२ जना जरिबाना नतिर्ने, तीनजनाको दोहोरो उम्मेदवारी, दुईजनाको बन्दसूची र मतदाता नामावलीमा लैंगिक पहिचान फरक परेको कारण, एकजनाको उमेर नपुगेको आयोगले जनाएको छ ।
यस्तै उम्मेदवारी खारेजीमा पर्ने राप्रपाका १४ जना छन् । जसमा १० जनाले जरिबाना नबुझाएको, २ जना दोहोरो उम्मेदवार, एकजनाको उमेर नपुगेको र एकजना सम्बन्धित प्रदेशबाट नभएकाले अयोग्य ठहरिएका छन् । नेकपा (एमाले) को भने प्रतिनिधिसभाजस्तै बन्दसूची सबै कायम भएको छ । सात प्रदेशमा एमालेले २२० जनाको नाम पेस गरेको थियो ।
निर्वाचन आयोगले समानुपातिकतर्फका ५५० जनाको उम्मेदवारी खारेज गरेको छ । जसमा निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ २०३ जना र प्रदेशसभातर्फ ३४७ जना छन् ।