निर्वाचनपछि सरकार निर्माणका तीन सम्भावना : मिलिजुली सरकार
निर्वाचन परिणाम र गठबन्धनमा रहेका पार्टीका उम्मेदवारबीच कसरी मत आदानप्रदान हुन्छ त्यसबाट मात्रै सत्ता समीकरणको दृश्य प्रस्ट हुन सक्छ ।
काठमाडौँ — संघ र प्रदेशको आगामी निर्वाचनपछि कस्तो सरकार बन्ला ? यो प्रश्नमा छलफल सुरु भइरहँदा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक मञ्चबाटै निर्वाचनपछि पनि यही गठबन्धनको सरकार बन्ने भन्दै मतदातालाई फकाइरहेका छन् ।
देउवा र दाहालले भनेजस्तो गठबन्धन सरकार बन्ने/नबन्ने आमनिर्वाचनको परिणाममा निर्भर हुनेछ । निर्वाचनपछि सरकारको नेतृत्व कसले गर्ने भन्नेमा देउवा र दाहालबीच अन्तिम टुंगो लाग्न बाँकी रहेको निकट नेताहरूको भनाइ छ । निर्वाचन सरकारको नेतृत्व देउवाले गरेको हुनाले निर्वाचनपछि दाहालले नेतृत्व गर्नुपर्ने दाबी माओवादीको छ ।
देउवाका विश्वासपात्रसमेत रहेका कांग्रेस प्रवक्ता प्रकाशशरण महत सत्ताको बाँडफाँट र आलोपालो सरकारको विषयमा छलफल भइनसकेको दाबी गर्छन् । गठबन्धनका सबै नेताको ध्यान निर्वाचनमा परिणाम कसरी राम्रो ल्याउने भन्नेतिर मात्रै रहेको उनको भनाइ छ । ‘नेतृत्वमा केही भएको छैन भनेर त म भन्न सक्दिनँ, शीर्ष नेताहरूमा कसरी जाने, के–के गर्ने भन्ने विषयमा अनौपचारिक कुराकानी भएकै होला,’ उनले भने, ‘मूलत: यतिबेला निर्वाचनमा परिणाम कसरी राम्रो ल्याउने भन्नेमा गठबन्धनको फोकस छ । सरकारको नेतृत्व ठूलो पार्टीको हैसियतले स्वाभाविक रूपमा कांग्रेसकै हुने हो, सँगै माओवादीलाई कसरी स्थान दिने भन्ने कुरा आउला ।’
आगामी संसद्मा पनि माओवादीको प्रतिनिधित्व निर्णायक हुन सक्ने ठानेरै देउवाले निर्वाचनपछि बन्ने सरकार निर्माणलगायत राज्यशक्तिका पदको बाँडफाँटमा दाहाललाई आश्वस्त पारिसकेको बालुवाटार स्रोतको भनाइ छ । दुई नेताबीच आलोपालो प्रधानमन्त्रीका साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रदेश सरकारको मुख्यमन्त्री बाँडफाँटसम्मका विषयमा उच्च तहको विश्वास बनेको कांग्रेसका एक नेता बताउँछन् । ‘मतदाताले अभिमतमार्फत अनुमान गरेभन्दा फरक परिणाम नदिए कांग्रेस र माओवादीबीचमै आलोपालो सरकार सञ्चालनको विधिमा मुलुक जानेछ,’ ती नेता भन्छन्, ‘देउवा र दाहालबीच छलफलबाट बाहिर नआएको विषय भनेको पहिला कसले सरकारको नेतृत्व लिने भन्ने मात्रै हो । आलोपालोमा अब कुनै शंका छैन ।’
राजनीतिक विश्लेषकसमेत रहेका निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेल अहिलेको राजनीतिक दृश्यले आगामी पाँच वर्ष पनि एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालबाटै शासित हुनुपर्ने देखाएको बताउँछन् । ‘केही प्रतिशत मत राजनीतिक दलबाट बिरिक्तिएर अन्यत्र लागे पनि बहुमत मतदाता यिनै प्रमुख दलसँग छन्, यी दलबाहेक अरू माथि आउने अवस्था देखिन्न,’ पोखरेल भन्छन्, ‘मन परे पनि, नपरे पनि अर्को पाँच वर्ष यिनै तीन नेताको शासन भोग्न मानसिक रूपमा तयार हुनुपर्ने अवस्था छ ।’
निर्वाचनपछिको सत्ता समीकरणको विषय अहिल्यै अनुमान लगाउन कठिन हुने उनको बुझाइ छ । निर्वाचन परिणाम र गठबन्धनमा रहेका पार्टीका उम्मेदवारबीच कसरी मत आदानप्रदान हुन्छ, त्यसबाट मात्रै सत्ता समीकरणको दृश्य प्रस्ट हुने उनी बताउँछन् ।
अहिले राजनीतिक वृत्तमा चर्चामा रहेका सम्भावित सत्ता समीकरणका परिदृश्य भने यस्ता छन् ।
सम्भावना–१
देउवा र दाहालबीच निर्वाचन क्षेत्रको बाँडफाँट हुनुअघि नै आलोपालो सरकार चलाउने विषयमा सैद्धान्तिक सहमति छ । उनीहरूबीच उच्च तहको विश्वास निर्माण भएको बुझाइ कांग्रेस र माओवादी दुवै पार्टीका नेताहरूमा छ । प्रधानमन्त्रीका लागि देउवाको विकल्प खोज्न पार्टीभित्र अन्य नेता लागेका छन् तर प्रत्यक्ष र समानुपातिकतर्फ भएका उम्मेदवार छनोटले देउवालाई जोखिम हुने सम्भावना धेरै कम छ ।
माओवादीमा दाहाललाई चुनौती दिने कुनै अर्को नेता छैनन् । कांग्रेसका एक नेताका अनुसार देउवा र दाहालबीचको समझदारीबमोजिम कांग्रेसले पहिला नेतृत्व लिएमा माओवादीले राष्ट्रपति पद लिने सम्भावना प्रबल रहन्छ । दाहालले यही परिस्थितिको आकलन गरेर पार्टी एकता भए नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई र तत्कालीन सभामुख अग्निप्रसाद सापकोटालाई चुनाव नलडाएको माओवादीकै कतिपय नेताहरू बताउँछन् । चुनाव लड्ने तयारी गरिरहेका सापकोटा दाहालकै आग्रहमा पछि हटेका हुन् । उनलाई निर्वाचनपछिको सत्ता समीकरणमा राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये कुनै एक भूमिका दिन सक्ने अनुमान छ । यी दुई पदका लागि निर्वाचित सांसद आवश्यक पर्दैन । दाहाल र भट्टराईबीच पार्टी एकीकरण गर्ने अनौपचारिक सहमति छ ।
सापकोटाले भने अध्यक्ष दाहालसँग सैद्धान्तिक र नीतिगतबाहेक यस विषयमा कुराकानी नभएको दाबी गरे । ‘भोलिका दिनमा सम्भावनाहरू जे पनि हुन सक्छन् तर ठोस रूपमा कुराकानी भएको छैन,’ उनले कान्तिपुरसँग भने, ‘राष्ट्रले आवश्यक ठानेमा, पार्टीले भूमिका दिएमा जुनसुकै जिम्मेवारी लिन पनि तयार छु तर अध्यक्ष दाहालसँग पदकै कुरा भएर निर्वाचन नलडेको भन्नेचाहिँ होइन ।’
कांग्रेसभित्र एकथरी नेताहरू देउवापत्नी आरजुुको कार्यकारी प्रमुख हुने महत्त्वाकांक्षालाई समेत जोडेर भावी सत्ता समीकरणको प्रयास हुन सक्ने बताउँछन् । यस्तो मत राख्ने नेताहरूका अनुसार आरजुको महत्त्वाकांक्षा पूरा गर्न सम्भावित तगाराहरूलाई सकेसम्म टिकट वितरणदेखि नै पन्छाउने गरिएको छ । ०७४ मा मोरङ–२ बाट चुनाव जितेका मीनेन्द्र रिजाल र स्वर्णिम वाग्लेलाई पन्छाइनुमा बालुवाटारकै मुख्य हात रहेको नेताहरू बताउँछन् । रिजाल र वाग्ले दुवैलाई कांग्रेसभित्र भविष्यको अर्थमन्त्रीका रूपमा हेरिएको थियो । प्रतिपक्षमा रहँदा देउवाले नै रिजाललाई संसद्मा छाया अर्थमन्त्रीकै जिम्मेवारी दिएका थिए तर बालुवाटारले उनीहरू दुवैलाई विस्थापन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई अगाडि बढाएको बुझाइ कांग्रेसको संस्थापनइतर खेमामा छ । आरजुका विश्वासपात्र पौडेललाई पदबाट राजीनामा गर्न लगाएर चितवन–१ मा उम्मेदवार बनाइएको छ ।
‘राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टीभित्रको सबै परिस्थिति अनुकूल बनेमा देउवा राष्ट्रपति हुने, पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री बन्ने र उनको नेतृत्वमा आरजु उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनेर अर्को चरणमा प्रधानमन्त्री बन्ने चर्चा छ,’ कोइराला पक्षका एक नेता भन्छन्, ‘तर प्रधानमन्त्रीको मनमा के छ भन्न सकिन्न, सभापतिको हाउभाउ र स्वभावले सतहमा त उहाँ आफैं प्रधानमन्त्री हुन खोजेको हो भन्ने लाग्छ, गहिरो गरी बुझ्दा हल्लाहरू पनि सही सावित हुन्छन् कि भन्ने आशंका छ ।’
माओवादीका एक पदाधिकारीले निर्वाचनपछि सरकारको नेतृत्व गर्ने पालो दाहालको भएको दाबी गरे । ‘पहिलो सरकारको नेतृत्व गर्ने पालो माओवादीको हो,’ उनले भने । कांग्रेस राजनीतिमा गहिरो अध्ययन गर्ने विश्लेषक पुरञ्जन आचार्यका अनुसार आरजुलाई स्थापित गर्न देउवाले जति प्रयत्न गरे पनि सम्भव नहुने दाबी गर्छन् । ‘आरजु प्रधानमन्त्री हुने र देउवा राष्ट्रपति हुने हल्ला मैले पनि सुनिरहेको छु, केही छलफलै नभई हल्ला पक्कै आएको होइन तर संसदीय दलमा नेता छानिन र प्रधानमन्त्री बन्न आरजुलाई धेरै कठिनाइ हुन्छ,’ उनले भने, ‘महिलालाई प्रधानमन्त्री बनाउनै हुन्न भन्ने होइन तर कुन र कस्तो महिला भन्ने हो । कांग्रेसमा मूल्यको राजनीति नभएको र कुनै पनि योगदान नगरेको महिलालाई कसरी प्रधानमन्त्री बनाउन सम्भव छ ?’
तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले पनि आफ्नो जीवनको उत्तराद्र्धमा छोरी सुजातालाई प्रधानमन्त्री बनाउने चाहना राखेका थिए । पार्टीभित्रको तीव्र असन्तुष्टिका बीच तत्कालीन माधव नेपाल नेतृत्वको सरकारमा कोइरालाले सुजातालाई उपप्रधानमन्त्री बनाएका थिए । ‘यो देशमा एक दिन महिला प्रधानमन्त्री हुन्छन्’ भनेर कोइरालाले सार्वजनिक मञ्चबाट अभिव्यक्ति दिएका थिए । उनको जीवनपछि सुजाता प्रधानमन्त्री बन्न सम्भव भएन । ‘गिरिजाबाबुले सुजातालाई प्रधानमन्त्री बनाउन चाहनुभएकै थियो तर पार्टीभित्र सुशील दाइले नै विद्रोह गर्नुभयो । मान्नुभएन । आफ्नै शक्तिमा राजनीति नगरेका मान्छेलाई जबर्जस्ती बनाउन खोजेर सम्भव हुन्न । अहिले कांग्रेसमा टिकट पाएका अनुहारहरू नियालेर हेर्दा शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सहज हुन्छ तर संसदीय दलमा आरजुलाई नेता मानेर जान्छन् भन्ने मलाई विश्वास छैन,’ आचार्यले भने, ‘चाहना त गिरिजाबाबुलाई पनि राष्ट्रपति बन्ने थियो तर हुन सक्नुभएन । आरजुको पनि महत्त्वाकांक्षा होला तर मैले बुझेको कांग्रेसभित्र आरजु प्रधानमन्त्री बन्लिन् भन्ने कुनै कोणबाट पनि देखेको छैन ।’
सम्भावना–२
निर्वाचन परिणामले एमाले र माओवादीबेगरै अन्य साना दल मिलेर सरकार बनाउन सक्ने अवस्था बनेमा देउवाले दाहालसँगको सहयात्रा तोड्न सक्ने बुझाइ पनि छ । सरकार निर्माणमा संसद्को अंकगणितलाई प्रभावित बनाउन घरभित्र र बाह्य शक्ति केन्द्रले समेत भूमिका खेल्ने हुँदा त्यस्तो परिस्थितिमा देउवा प्रभावित हुन सक्ने बुझाइ छ । माओवादीलाई बाहिरै राखी साना दल मिलाएर पनि सरकार निर्माण गर्न सक्छन् । तर, देउवाका लागि एमाले र माओवादी दुवै दललाई बाहिर राखेर सत्ता निर्माण गर्नु जोखिम हुने कांग्रेस नेताहरूको बुझाइ छ ।
‘ठूलै शक्तिको दबाबमा परे मात्रै हो, नत्र यो विकल्पमा जाने सम्भावना म कम देख्छु,’ देउवानिकट स्रोतले भन्यो । सत्ता गठबन्धनमा प्रतिनिधिसभाको सिट बाँडफाँटकै बेलादेखि कांग्रेस र माओवादीमा यस्ता खालका आशंका उठेका थिए । कांग्रेसले साना दल मिलाएर पनि सरकार निर्माण गर्न सकिने रणनीतिका साथ नब्बेभन्दा बढी सिट संख्या माग गरेको थियो । कांग्रेस वा एमालेलाई सरकार निर्माण गर्न आफ्नो दलबाहेक अरू शक्ति निर्णायक नहोऊन् भन्ने चाहना माओवादीको थियो । यही रस्साकसी चलिरहेका बेला देउवा र दाहालबीच आलोपालो सरकारको विषयमा उच्च तहको विश्वास बनेपछि सिट संख्याको विषय मिलाउन सहज भएको बुझाइसमेत छ ।
त्यतिबेला कांग्रेसले बढी सिट खोज्दा जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट अलग्गिएको थियो । ‘सरकार बनाउन सकिने भए पनि एमाले र माओवादी दुवै दललाई बाहिर राखेर सरकार चलाउन कठिनाइ हुन्छ, यो कुरालाई देउवाले नबुझ्ने कुरै भएन,’ बालुवाटार स्रोतले भन्यो ।
राजनीतिक विश्लेषक पोखरेल निर्वाचन परिणाम नआएसम्म सरकार निर्माणमा कस्तो खालको समीकरण बन्छ भनेर अन्दाज गर्न नसकिने बताउँछन् । ‘निर्वाचनको दिनसम्म राजनीतिक दलहरूको सम्बन्ध कस्तो हुन्छ ? कति भोट ट्रान्सफर हुन्छ ? एउटा पक्षले अर्कोलाई बेइमान गर्यो भने अहिलेको गठबन्धनकै निरन्तरता हुन्छ भन्ने ग्यारेन्टी हुन्न । कस्तो खालको समीकरणमा सरकार बन्छ भन्ने कुरा सिटले निर्धारण गर्ने हो । आजको अवस्थासम्म कुनै हावाहुरी नआएमा एउटै दलले बहुमत ल्याउन कठिन छ । सिटको आधारमा मात्रै दलहरूबीच बार्गेनिङ शक्ति तलमाथि हुन्छ । त्यसैले अंकगणित नआई सत्ता समीकरणका बारेमा यसै भन्न सकिन्न ।’
सम्भावना–३
निर्वाचन परिणामपछि एमाले र माओवादी मिलेर सरकार बनाउने सम्भावना पनि बन्न सक्छ तर यो अन्तिम विकल्प हो । माओवादीको अहिलेको मुख्य लक्ष्य एमाले अध्यक्ष केपी ओलीको ‘दम्भ’ कम गर्नुमा केन्द्रित छ । २०७४ पछि लिखित सहमति हुँदासमेत ओलीले धोका दिएकाले दाहाललाई यो विकल्पमा जान सहज छैन ।
एमालेको सिट धेरै खुम्चिए मात्रै ओलीको ‘दम्भ’ घट्ने बुझाइ दाहालको छ । केही समयअघि माओवादी र एमालेका दोस्रो तहका नेताको एउटा खेमाले स्थानीय तह निर्वाचनलगत्तै वामपन्थी पार्टीहरूबीच ध्रुवीकरण गराउने प्रयत्न थालेको थियो । जतिबेला जुन राजनीतिक मान्यताका साथ दाहाल ओलीसँग अलग भएका थिए, त्यसैमा ओलीको विमति देखिएपछि वामपन्थी ध्रुवीकरणको प्रयास सफल हुन सकेन ।
निर्वाचन परिणामले मात्रै ओलीको ‘दम्भ’ कम गर्न सक्ने बुझाइ अहिले माओवादी नेताहरूमा छ । आफ्नो राजनीतिक बाटो प्रतिकूल बने मात्रै ओलीले अर्कोलाई प्रधानमन्त्री प्रस्ताव गर्न सक्ने माओवादीका एक नेता बताउँछन् । उनका अनुसार निर्वाचनमा कांग्रेस मतदाताबाट इमानदारिता नभएर परिणाममा धेरै नै तलमाथि पर्न गएमा पनि माओवादीले कांग्रेससँगको गठबन्धन तोड्न सक्छ । ‘त्यतिबेला वामपन्थीहरूकै सरकार बनाउन कमरेड ओली र दाहालबीच समझदारी बन्न सक्छ,’ उनी भन्छन्, ‘तर अहिले वामपन्थी समीकरणको सरकार बन्ने कुरा अनुमान र चर्चाको विषयमा मात्रै सीमित छ । मुख्य कुरा कसले कति सिट ल्याउने भन्नेमा प्रतिस्पर्धा छ । त्यसैमा कसको कस्तो बार्गेनिङ हुने निर्भर रहन्छ ।’
राजनीतिशास्त्रका प्राध्यापक खड्ग केसीले ओली र दाहाल आत्मकेन्द्रित नेता भएकाले निर्वाचन परिणाम पनि त्यस्तै आए मिल्न सक्ने बताए । ‘दुवै नेताबीच सत्ता बाँडफाँटमा स्वार्थ मिल्ने गरी निर्वाचन परिणाम आए मिल्न सक्छन्,’ उनले भने ।
स्रोत- इकान्तिपुर