तिहारको अबसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् चाड तिहार, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका कामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा भनिएको छ, “तिहार पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वासका साथ पुनः तिहार पर्व, २०७९ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
पौराणिक, सांस्कृतिक र व्यावहारिक महत्त्व बोकेको तिहार प्रकाशको पर्व पनि हो । त्यसैले तिहारलाई हामी दीपावलीका नामबाट समेत जान्दछौँ । उज्यालो आफैँमा प्रेरणाको विम्ब हो । दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना उहाँले गर्नुभएको हो ।
“तिहार पर्वले एकातिर प्रकृति, मानव र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्दछ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मीय सम्बन्धलाई प्रगाढ बनाउँदछ”, सन्देशमा भनिएको छ, “तिहारका अवसरमा खेलिने देउसी–भैलोको दक्षिणाबाट सङ्कलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउने असल परम्परा समेत रहेको छ ।”
राष्ट्रपति भण्डारीले असल परम्परा र अभ्यासले नेपाली संस्कृतिलाई जोगाउने तर बढ्दो उपभोक्तावादी प्रवृत्तिका कारण चाडबाड मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनका साथै तिहारलाई जुवा–तास खेल्ने अवसरका रूपमा लिने नकारात्मक पक्षलाई भने हामीले क्रमशः हटाउँदै जानुपर्नेमा जोड दिनुभएको छ । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीको ठूला चाडमध्ये एक महत्त्वपूर्ण र मौलिक चाडको रूपमा रहेको छ ।
यमपञ्चकका रूपमा समेत जानिने तिहार पर्वभित्र काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहारजस्ता विशिष्ट तिहार समेटिएका छन् । यस पर्वको अवसरमा धन र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा अर्चना गरी दीपावली गर्ने र दिदीबहिनीद्वारा दाजुभाइलाई सप्तरङ्गी टीकाका साथै सयपत्री र मखमली फूलको माला लगाई पूजा गरिनुका साथै देउसी–भैलो खेल्ने परम्परा रहेको छ ।
चाडपर्वले आपसी स्नेहलाई प्रगाढ बनाउन मद्दत पुर्याउँछ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दीयौँ पहिलेदेखि चल्दै आएको तिहार हाम्रो विशिष्ट मौलिक पर्व भएको उल्लेख गर्नुभएको छ । उहाँले यो मौलिक सांस्कृतिक पर्वले प्रकृति, मानव, जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई समेत प्रगाढ बनाउन मद्दत पुर्याउँदै आएको बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत नेपालीहरूको महान् चाड तिहार–२०७९, नेपाल संवत् ११४३ को आरम्भ, म्ह: पूजा तथा किजा पूजाको पुनीत अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
तिहारको अवसरमा खेलिने देउसी भैलोलगायतका सांस्कृतिक नाचगानले हाम्रो समाजमा शान्ति, सद्भाव, एकता र भाइचाराको भाव अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएका छन् । औँसीको रातमा झिलिमिली बत्ती बाल्दै घर आँगन उज्यालो तुल्याउने कार्यले हामी सबैलाई अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने उहाँले बताउनुभएको छ । यस अवसरमा प्रधानमन्त्री देउवाले दीपावलीको उज्यालो प्रकाशले सबैलाई सत्य, धर्म, न्याय र सदाचारको मार्गमा अग्रसर रहन प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।
कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्लपक्षको द्वितीया तिथिसम्म पाँच दिनसम्म अत्यन्त हर्ष र उल्लासका साथ मनाइने यमपञ्चकको रूपमा समेत चिनिने यस पर्वका अवसरमा मानव समाजका लागि उपयोगी काग, कुकुर, गाई, गोरुलगायत पशुपन्छीका साथै कार्तिक कृष्ण अमावास्याका दिन धन र ऐश्वर्यकी देवी लक्ष्मीको विधि विधानपूर्वक पूजा अर्चना गरी साँझमा घर–आगमनमा दीपावली गरी देउसी भैलो खेल्दै नाँचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ ।
कार्तिक शुक्ल द्वितीयका दिन दिदीबहिनीद्वारा दाजुभाइको पूजा गरिनुका साथै एक आपसमा फलफूल, मिठाइ, मरमसलालगायत कोसेली र दक्षिणासमेत प्रदान गरी शुभकामना आदान–प्रदान गरिन्छ । यसैगरी नेवार समुदायमा यसै अवसरमा साँझमा म्ह: पूजा गर्ने परम्परा छ । प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण कायमै रहेको र डेङ्गी रोगको प्रकोपको जोखिम अझै रहिरहेको वर्तमान सन्दर्भमा स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डहरूलाई समेत पालना गर्दै आवश्यक सजगता र सतर्कतासहित दीपावली पर्व मनाउन सबैलाई अनुरोध गर्नु भएको छ ।
उहाँले तिहार पर्वले सम्पूर्ण नेपालीहरूबीच एक आपसमा प्रेम, सांस्कृतिक सद्भाव र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भन्दै तिहार पर्व २०७९ को पुनीत अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।