झन्डै २ हजार स्वतन्त्र उम्मेदवारहरुले दलहरुलाई चुनौती

गत स्थानीय तह निर्वाचनमा काठमाडौं, धरान, धनगढी, जनकपुरधामजस्ता महत्त्वपूर्ण स्थानीय तहको प्रमुखसहित ३ सय ८४ पदमा विजयी भएसँगै स्वतन्त्र उम्मेदवारीमा आकर्षण बढेको छ, आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य छ ।

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या अघिल्लो निर्वाचनभन्दा एकतिहाइले बढेको छ । यस पटक १ हजार ९ सय ५७ स्वतन्त्र उम्मेदवार छन् । २०७४ को संसदीय निर्वाचनमा यो संख्या १ हजार ३ सय १७ थियो ।

यस पटक प्रतिनिधिसभामा ८ सय ६७ र प्रदेशसभामा १ हजार ९० स्वतन्त्र उम्मेदवार छन् । अघिल्लो पटक प्रतिनिधिसभामा ५ सय २ र प्रदेशसभामा ८ सय १५ स्वतन्त्र उम्मेदवार थिए । तीमध्ये प्रतिनिधिसभामा हुम्लाबाट छक्कबहादुर लामा मात्रै विजयी भएका थिए । उनी पछि माओवादीमा प्रवेश गरेका थिए । अहिले एमालेबाट हुम्लाको प्रदेशसभा (२) मा उम्मेदवार छन् । अन्य कुनै पनि उम्मेदवार निकटतम प्रतिद्वन्द्वीसमेत हुन सकेनन् । कैलाली–४ मा गीता क्षत्री, सल्यानमा उकाकान्त शर्मा, रसुवामा कविराज डंगोल, सर्लाही–३ मा नरेन्द्र साह कलवार, सप्तरी–२ मा जयप्रकाश ठाकुर र महोत्तरी–३ मा चन्द्रेश्वर झा तेस्रो स्थानसम्म पुग्न सफल भएका थिए । निर्वाचन आयोगको विवरणअनुसार अधिकांश उम्मेदवारले सय मत पनि कटाएका थिएन् ।

प्रदेशसभामा भने २०७४ मा ३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । मनाङ–१ (२) मा राजीव गुरुङ, उदयपुर–२ (१) मा नारायणबहादुर मगर र रौतहट–४ (२) मा शेख अबुलकलाम आजाद विजयी भएका थिए । यस पटक पनि सोही क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ निर्विरोध भएका छन् तर आयोगले औपचारिक घोषणा गरिसकेको छैन । अघिल्लो पटक महोत्तरी–३ (२) मा सुरेश साह सोनार निकटतम प्रतिद्वन्द्वी भएका थिए भने अन्य १३ जना तेस्रो स्थानसम्म पुगेका थिए ।

आयोगका अनुसार कपिलवस्तु–३ (२) मा जानकीप्रसाद यादव, कपिलवस्तु–२ (२) मा राजुप्रसाद अर्याल, लमजुङ–१ (२) मा उत्तम गुरुङ, कास्की–२ (२) मा नरेशशंकर पालिखे, सप्तरी–२ (२) मा लक्ष्मण यादव, महोत्तरी–३ (१) मा मोहम्मद मुजिबुल रहमान, बारा–२ (२) मा जलबन्धसिंह जैसवार, रौतहट–४ (१) मा राजु धामी, काठमाडौं–७ (२) मा विदुर धमला, सल्यान–१ (१) मा भीमप्रकाश शर्मा, बाँके–३ (२) मा विजयकुमार पाठक, कञ्चनपुर–१ (२) मा राजेन्द्रप्रसाद जोशी र रसुवा १ (१) मा लीलाबहादुर न्यौपाने तेस्रो स्थानमा पुगेका थिए ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भने वडा सदस्यदेखि पालिका प्रमुखसम्म ३ सय ८४ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । काठमाडौं महानगरको प्रमुखमा बालेन्द्र शाहसहित १२ स्थानीय तहको प्रमुख स्वतन्त्र (बागीसहित) उम्मेदवारले जितेका छन् । धरान उपमहानगरमा हर्कबहादुर राई, जनकपुरधाम उपमहानगरमा मनोज साह र धनगढी उपमहानगरमा गोपालबहादुर हमाल स्वतन्त्रबाट प्रमुखमा विजयी भएका थिए । निर्वाचन आयोगका अनुसार गत स्थानीय तह निर्वाचनमा १२ प्रमुख, ४ उपप्रमुख, १ सय ३६ वडाध्यक्ष र २ सय ३२ वडा सदस्यमा स्वतन्त्रले जितेका छन् ।

राजनीतिक विश्लेषक कृष्ण खनाल स्थानीय तह निर्वाचनमा हासिल गरेको परिणामले स्वतन्त्र उम्मेदवारीमा आकर्षण बढेको बताउँछन् । राजनीतिक दलहरू असान्दर्भिक हुँदा हरेक निर्वाचनमा स्वतन्त्र र बागीको संख्या बढिरहेको उनको बुझाइ छ । ‘राजनीतिक दलहरूमा पुरानोपन हावी भयो, यसले दलका कार्यकर्ता र मतदातामा व्यापक वितृष्णा जन्माउने काम गर्‍यो,’ उनी भन्छन्, ‘यही मनोविज्ञानमा खेलेर चुनाव जितिहालिन्छ कि भन्ने सम्भावनाका कारण स्वतन्त्र उम्मेदवारको संख्या बढेको छ ।’ पछिल्लो समय स्वतन्त्रहरूले नेटवर्किङ गरेरै चुनावमा जाँदा अवस्था परिणाम पनि पहिलेभन्दा फरक आउन सक्ने उनको भनाइ छ ।

यस पटक केही स्वतन्त्र उम्मेदवारहरू प्रभावशाली उपस्थितिसहित चुनावी मैदानमा छन् । एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरेका घनश्याम भुसाल रूपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार छन् । सत्ता गठबन्धनमा माओवादीको भागमा परेको उक्त क्षेत्रमा भुसाललाई गठबन्धनको समर्थन छ । एमालेबाटै प्रभु साह समूहले मधेस प्रदेशका ८ वटा संघीय र करिब एक दर्जन प्रदेशसभा निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएको छ । साह रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र समूहका नेता साह आफ्नो समूहले प्रतिनिधिसभा र प्रदेशसभामा प्रभावशाली उपस्थिति जनाउने गरी विजय हासिल गर्ने दाबी गर्छन् । ‘हामीलाई स्वतन्त्र नागरिक र अन्य विभिन्न दलमा आस्थावान मतदाताको समर्थन छ, त्यसैले स्वतन्त्रबाटै राम्रो नतिजा हासिल गर्छौं,’ उनले भने ।

चितवन–३ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी लडेका कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला पनि चर्चित उम्मेदवार हुन् । उनको उम्मेदवारीमा टिकट वितरणक्रममा कांग्रेसभित्र देखिएको असन्तुष्टि प्रकट भएको कांग्रेसका नेताहरू बताउँछन् । उनलाई एमालेले समर्थन गरेको छ । गत स्थानीय तह निर्वाचनमा चितवन–३ मा एमाले पहिलो र कांग्रेस दोस्रो दलका रूपमा छन् । सत्ता गठबन्धनले माओवादीका भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

राजनीतिक विश्लेषक खनाल स्वतन्त्र उम्मेदवारको संख्या बढे पनि ती कति सशक्त र गम्भीर खालका छन्, त्यसैमा नतिजा निर्भर हुने बताउँछन् । यस पटक केही स्वतन्त्र उम्मेदवारी नतिजा परिणाम प्रभावित गर्ने खालका रहने उनको बुझाइ छ । ‘संसदीय राजनीतिक प्रणालीमा स्वतन्त्रहरू विकल्प हुन सक्दैनन्, संसद् र सरकार चल्नका लागि दलहरूको विकल्प देखिँदैन,’ उनले भने, ‘तर स्वतन्त्रले चुनावमा चुनौती दिनु र जितेर संसद्मा जाने अवस्था भनेको राजनीतिक दलहरूलाई ठूलो पाठ सिकाइ हो ।’

मधेसमा सबैभन्दा धेरै स्वतन्त्र

यस पटक पनि सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार मधेस प्रदेशमा छन् । यस पटक प्रदेशसभातर्फ मधेस प्रदेशमा ५ सय ४७ स्वतन्त्र उम्मेदवार छन् । ०७४ मा मधेस प्रदेशमा स्वतन्त्र उम्मेदवारको संख्या ४ सय ८१ थियो । मधेसपछि स्वतन्त्र उम्मेदवारको संख्या वाग्मतीमा १ सय ९२ छ । त्यसैगरी लुम्बिनीमा १ सय ६४, प्रदेश १ मा १ सय ५, गण्डकीमा ३४, सुदूरपश्चिममा ३२ र कर्णालीमा १६ जना स्वतन्त्र उम्मेदवार छन् ।

मधेस मामिलाका विश्लेषक चन्द्रकिशोर मधेसमा मुख्यगरी तीन कारणले स्वतन्त्र उम्मेदवारी अधिक हुने गरेको बताउँछन् । उनका अनुसार पहिलो कारण ०७४ र यस पटक गठबन्धन हुनु हो । ‘वर्षौर्देंखि कांग्रेस र एमालेप्रति प्रतिबद्ध रहेका थुप्रै नेता–कार्यकर्ताले गठबन्धनको कारण टिकट पाउन सकेनन्, यसले गर्दा उनीहरू स्वतन्त्र (बागी) उठ्न बाध्य भए,’ उनले भने, ‘दोस्रो कारण भनेको दल अदलबदलको प्रवृत्ति हो, राजनीतिक लाभ पाउने आसमा अमूक दलबाट नयाँ दलमा प्रवेश गर्दासमेत टिकट नपाएपछि उनीहरू स्वतन्त्र उठ्ने अवस्थामा पुगेका छन् ।’ यस पटक मधेसमा स्वतन्त्र उम्मेदवारी बढ्नुको तेस्रो कारणका रूपमा उनले एमालेभित्र रघुवीर महासेठ र प्रभु साह गुटको अन्तर्द्वन्द्वको कारण साह समूह अलग्गै लड्नु रहेको बताए ।

स्वतन्त्रतर्फ महिलाको संख्या भने न्यून छ । यस पटक प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका ८ सय ६७ मध्ये ७७ जना महिला छन् । प्रदेशसभाका १ हजार ९० स्वतन्त्र उम्मेदवारमध्ये महिला ९८ जना छन् । ०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ ५ सय २ जना स्वतन्त्र उम्मेदवारमध्ये ४० र प्रदेशसभातर्फ ८ सय १५ स्वतन्त्र उम्मेदवारमध्ये ५० जना महिला थिए ।