श्रद्धाञ्जलिका लागि जोशीको शरीर किष्ट कलेजमा, अब महानगर लगिने

काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा लगिने भएको छ। जोशीको पार्थिव शरीरलाई दिउँसो १२ बजेपछि अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलिका लागि महानगरको परिसरमा राखिने ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

अहिले उनको पार्थिव शरीरलाई ललितपुर इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा नै श्रद्धाञ्जलिका लागि राखिएको छ ।अस्पतालको आवश्यक प्रक्रिया पूरा गरेपछि करिब १२ बजेसम्मका लागि जोशीको पार्थिव शरीर अस्पताल परिसरमा राखिएको किस्ट मेडिकल कलेजका प्राध्यापक डा सुरज बज्राचार्यले जानकारी दिए । जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जलि दिने छन्। सर्वसाधारणका लागि पनि सोही स्थानमा श्रद्धाञ्जलि दिन दिइने छ ।

जोशीको निधन ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा भएको थियो । उनले आफ्नो मृत्युपछि अस्पताललाई शरीर दान गर्ने घोषणा गरेका थिए । मृत्यु भएपछि खरानी हुनुभन्दा विद्यार्थीलाई अनुसन्धानका लागि सघाउन आफ्नो शरिर दान गर्ने घोषणा गरेका उनका आफन्तले जनाएका छन् ।

उनकै निर्णय अनुसार जोशीको पार्थिव शरीर नजलाइने भएको छ। उनको शरीर किष्ट मेडिकल कलेजमा नै अध्ययनका लागि नगल्ने खालको केमिकल प्रयोग गरेर राखिने छ । लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो ।

परीक्षण गर्दा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कम भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको थियो । केही दिन अगाडिबाट नै जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो। किस्ट अस्पतालले जोशी दम्पत्तिको नि:शुल्क उपचार गर्दै आएको छ । जोशी बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा वि. सं. १९७७ साल वैशाखमा ललितपुरमा जन्मेका हुन् । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षणमा लागेका उनलाई नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो ।

उनले हाम्रो लोक संस्कृतिका लागि पहिलोपटक वि. सं. २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक वि. सं. २०१७ सालमा र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक वि. सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गरे। उनले सुप्रबल गोर्खा दक्षिणबाहुलगायत धेरै पुरस्कार र सम्मान समेत पाएका छन्। २०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’सम्मान दिएको थियो ।

अन्तिम श्रद्धाञ्जलीपछि जोशीको शरीर अस्पताललाई हस्तान्तरण गरिने

काठमाडौँ — संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीर चिकित्सा शिक्षा अध्ययनका लागि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई प्रदान गरिने भएको छ । जोशीको इच्छा अनुसार नै उनको पार्थिव शरीर अस्पताललाई दिइने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिएका छन् ।

उनका अनुसार जोशीको शरीरलाई साढे ११ बजे देखि १२ बजेसम्म अस्पताल प्रांगणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । परिवारले अस्पतालको शय्यामा नै श्रद्धाञ्जली प्रकट गरेर हिन्दु संस्कारका केही विधि प्रक्रिया पूरा गरेपछि उनको पार्थिव शरिर आम मानिसका लागि श्रद्धाञ्जली दिनका लागि राखिने छ ।

यस्तै, १२ बजे उनको शरीरलाई ललितपुर महानगरपालिकामा लगिने र त्यहाँ ४ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने भएको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका अन्य विशिष्ठ व्यक्ति समेत जाने बताइएको छ । उनको शरीर अन्तिममा आइतबार नै अस्पताललाई हस्तान्तरण गरिने मेयर महर्जनले जानकारी दिए ।