संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

काठमाडौँ — संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिँदै थियो ।

अस्पताल स्रोतका अनुसार उपचाररत जोशीको स्वास्थ्य अवस्था शुक्रबार जटिल बनेको थियो । जोशीलाई बिहीबारदेखि नै धेरै अक्सिजन दिनुपरेको थियो भने मुटुको चालमा पनि समस्या रहेको थियो । पछिल्लो पटक उनलाई डेंगीको संक्रमणका सथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उनी मुटु र फोक्सो पनि दीर्घरोगी थिए ।

संस्कृतिविद्को आमचिनारी बनाएका भए पनि सत्यमोहन जोशी जीवनका अनेकन कुइनेटाहरूमा कहिले औद्योगिक तथा व्यापारिक समाचार संग्रह अड्डाका तथ्यांक संकलक भए त कहिले पुरातत्त्व विभागका निर्देशक । कहिले नेपाल-अमेरिका सांस्कृतिक केन्द्रको कल्चरल सेक्रेटरी भए त कहिले तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको सहप्राज्ञ भए । जहाँ जे भए पनि सत्यमोहनले इतिहास र संस्कृतिको खोजीमेली, लोकभाका र लोकसंस्कृतिको खोज अनुसन्धानको काम भने जारी नै राखे ।

वि.सं. २०२८ सालमा प्रज्ञा प्रतिष्ठानमै रहेका बेला जोशीकै अगुवाइमा भएको कर्णालीको लोकसंस्कृतिको अध्ययनपछि प्रकाशित कर्णाली लोकसंस्कृति पुस्तकका लागि संयुक्त रुपमा मदन पुरस्कार पाएका थिए । त्यसअघि नै जोशीले हाम्रो लोक संस्कृति पुस्तकका लागि वि.सं. २०१३ सालमा र नेपाली राष्ट्रिय मुद्राग्रन्थका लागि २०१७ सालमा गरी तीनपटक मदन पुरस्कार पाएका थिए ।

जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित उनी पहिलो नेपाली नागरिक पनि हुन् । जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी रहेका जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार पनि थिए ।

जोशीको अन्तिम संस्कार नहुने, अध्ययनका लागि अस्पतालमा राखिने

वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीले मृत्युअघि नै दान गरिसकेको शरीर नजलाउने निर्णय भएको छ । जोशीको शरीर अध्ययनका लागि ललितपुरस्थित किष्ट मेडिकल अस्पतालमा राखिने निर्णय भएको हो । आइतबार अस्पतालमा उहाँकाे मुत्यु ७ बजेर ९ मिनेटमा भएकाे हाे । जोशीको निधनपछि उहाँका परिवार, महानगर र अस्पतालबीच छलफल भएको हो । जोशीको शरीर किष्ट मेडिकल अस्पतालमा अन्तिम श्रद्धाञ्जलीका सकिएपछि अब अन्तिम श्रद्धाञ्जलीका ललितपुर महानगरपालिका परिसरमा लगिएको छ ।

“जोशीको शरिर अध्ययनको लागि अस्पताललाई दान भएको छ, अहिले महानगर परिसरमा अन्तिम श्रद्धाञ्जली सकिएपछि शरिर पुनः अस्पतालल नै फर्काउने र शरीर नगल्ने केमिकल प्रयोग गरेर वर्षोंसम्म राख्न सकिनेछ”, किष्ट मेडिमल अस्पतालका प्रमुख डा. अमिष पाठकले भन्नुभयो ।उहाँका अनुसार अस्पतालले जोशीको शरीर नगल्ने कसरी सुरक्षित राख्ने बारे अध्ययन गरिसकेकाले जाेशीकै इच्छाअनुसार शरीर अध्ययनका लागि राखिने भएको छ ।

आफ्नो शरीरको उपयोगिता मृत्युपछि पनि हुने जोशीको सपना थियो । जोशीको शरीर सुरक्षित राखेर अध्ययनका लागि उपयोगी हुनसक्ने पहिले नै छलफल भएको हो । यसका साथै जोशीका जीवन सङ्गिनीले समेत मृत्युपछि पनि जोशीसँगै रहने इच्छा राख्नुभएको हो । यसरी श्रीमतीको शरीर पनि उक्त मोडिकल कलेजलाई नै दिने इच्छा उहाँहरू दुवैको हो ।