निलम्बित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी नियन्त्रणमा

काठमाडौँ, असोज २० गते । एक युवतीलाई जबर्जस्ती करणीको आरोप लगेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । कतार एयरवेजको विमानबाट बिहीबार (आज) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बिहीबार कतार एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो । विमानस्थल प्रहरी सुरक्षा प्रमुख डिआइजी श्यामलाल ज्ञवालीका अनुसार सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।उहाँले भन्नुभयो, ‘लामिछाने नेपाल पुगिसक्नु भएको छ, उहाँलाई विमानस्थलबाट हामीले नियन्त्रणमा लिएका छौँ ।’ लामिछाने स्वदेश फर्किन लागेको जानकारी सामाजिक सञ्जालबाट दिनुभएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे ओर्लिने भए पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केही बेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको जहाज केही बेर आकाशमा घुमेको थियो । लामिछानेविरूद्ध गत भदौ २१ गते एक बालिकाले बलात्कार आरोपमा जाहेरी दिनुभएको छ । नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेकाले लामिछानेलाई विमानबाटै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सन्दीपलाई गौशाला वृत्तमा राखियो, त्यहीँबाट कारबाही सुरु हुने

राती २:५० बजे दोहाबाट उडेका सन्दिप लामिछाने खराव मौसमको कारण ढिलोगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै समातिएर गौशाला प्रहरी थानामा लगिएका छन् । ११:०२ बजे अवतरित कतार एअरको उडानमा आएका उनलाई नियन्त्रणमा लिएर नगर प्रहरीकाे भ्यानमा लगिएको छ ।

दशैँ विदा जारी नै रहेकोेले अबको केही दिन उनको बसाइ गौशाला प्रभागमै हुनेछ । १८ बर्ष उमेर नपुगेकी युवतीले आफूमाथि करणी भएको भनी सोही चौकीमा सन्दिपबिरुध्द उनी बिदेशमा भएकै बेला किटानी जाहेरी दिएकी थिइन् ।

जिल्ला अदालतबाट केही पटक म्याद थप,हिरासतमा वयान,प्रमाण संकलनलगायतका काम सकिएपछि अदालतमा थुनछेक बहसको प्रक्रियामार्फत उनलाई पल शाहलाई झैं पुर्पक्षका निम्ति जेल पठाइने प्रवल सम्भावना रहेको जानकारहरु बताउँछन् ।