याक एन्ड यती गोर्खा रेस्टुरन्ट योर्कले गुरुङ फिल्म “शिरसुबा” आर्थिक सहयोग
योर्क । ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको दोश्रो चलचित्र “शिरसुबा” स्विन्डन र अल्डरसटको भब्य सफल प्रदर्शनपछि गत आइतबार सेप्टेम्बर ११ तारिख योर्कको याक एन्ड यती गोर्खा रेस्टुरन्टमा भब्य प्रदर्शन भएको छ ।
बिगत एक दशकदेखि योर्कबासी नेपालीलाई स्वादिलो नेपाली खाना खुलाउदै आएको, बेलायतमा धेरै जसो कार्यक्रमहरुलाई साथ अनि सहयोग गर्दै आएको याक एन्ड यती रेस्टुरन्टले आयोजना गरेको उक्त चलचित्र प्रदर्शनमा करिब ६० जना दर्शकहरु उपस्थित भएका थिए । सानो समाज भए त पनि योर्क नेपाली समाजको निम्तो स्विकार गरी प्राय सबैजना उपस्थित भएको कुरा आयोजक बम गुरुङले जानकारी गराउनुभयो ।
फिल्म हेर्न आउनु भएका सबै दर्शकलाई खानाका साथ सेल रोटीको पनि ब्यवस्था गरिएको थियो । आफ्नो गाउँ ठाउँको प्रबर्दन गर्न अगाडी सरेका युबाहरुलाई हामीले सधै साथ दिनुपर्छ भनि यो चलचित्र योर्कमा प्रदर्शन गर्ने जिम्मा आफुहरुले लिएको कुरा याक एन्ड यती गोर्खा रेस्टुरन्टका अर्का सन्चालक किसान गुरुङ भन्नुभयो ।
चलचित्र प्रदर्शनमा योर्क नेपाली कम्युनिटीका अध्यक्ष श्री गोपाल पुन्, सुनगाभा इन्टरटेन्टमेन्टका अध्यक्ष रि. मेजर सुरेन्द्र गुरुङ्, सफल ब्यवसायी दुर्गा गुरुङ, एनआरएनए यु.केका प्रबक्त श्री भरतमनी चोमबाङ लगायतका ब्यक्तित्वहरु उपस्थित हुनुहुन्थ्यो । चलचित्र हेरिसकेपछि सबै दर्शकहरुले आनन्द मानी चलचित्रको खुलेर प्रशंसा गरेका थिए ।
याक एन्ड यती रेस्टुरन्टका सन्चालक निर्मला गुरुङ र दीपा गुरुङले काउन्टरमा टिकट ब्यवस्थापन गरेको र उठेको £६४५ रकम चलचित्र युनिटलाई हस्तन्तरण गरेका थिए । चलचित्र प्रदर्शनबाट उठेको रकममा £४०० थप गरी जम्मा £१०४५ चलचित्र युनिटलाई हस्तनतरण गरेको कुरा निर्माता बिमल गुरुङले खबर यूकेलाई जानकारी गराउनुभयो । चलचित्र प्रदर्शनबाट भएको मुनाफा घान्द्रुकको स्कुलको स्तर उन्नत्तीको लागि प्रदान गरिनेछ वा उपयोग गरिनेछ ।
चलचित्र पर्दर्शन सके लगत्तै निर्माता बिमल गुरुङले योर्कमा “शिरसुबा”लाई स्वागत गरेकोमा योर्कबासी नेपालीलाई हार्दिक धन्यबाद दिनुभयो । आइतबार बन्द रहने रेस्टुरन्ट खोलेर उपस्थित सबैको लागि खानाको ब्यवस्था गर्नुभएकोमा याक एन्ड यती रेस्टुरन्ट परिवारलाई क्रितज्ञता दिनुभयो । गुरुङ, मगर, राइ, लिम्बु लगायतका जातजातीको बसोबास रहेको योर्कका सबै दर्शकहरुलाई चलचित्र हेरी दिनुभएकोमा र मन पराइदिनुभएकोमा फिल्म युनिटको तर्फबाट धन्यवाद दिए । फिल्म हेरिसकेपछि सबैले फिल्म मन परेको र खुलेर प्रशंसा गरेका थिए ।