
बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन
बेलायती महारानी एलिजावेथ द्वितीयको ९६ बर्षको उमेरमा निधन भएको छ । बकिङ्गघम प्यालेसले बिहीवार आपरान्ह अधिकारिक सुचना जारी गरी ९६ वर्षीया रानीको निधन भएकोको घोषणा गरेको हो । ‘आज दिउँसो बालमोरलमा महारानीको शान्तिपूर्वक निधन भयो,’ प्यालेसले भनेको छ ।
महारानी एलिजाबेथ द्वितीया बेलायतको इतिहासमा सबैभन्दा लामो शासन चलाएकी महारानी हुन । महारानीको निधनसँगै युवराज चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका राजा बनेका छन् । रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने बेलायती सञ्चारमाध्यमहरुमा जनाइएको छ । त्यस्तै राष्ट्रिय शोकको अवधि पनि सुरु भएको छ । करिब १० दिनमा उनको अन्तिम संस्कार गरिनेछ ।
उनको शवलाई बकिङ्गघम प्यालेसमा सारिने बताइएको छ । उनको सम्मानमा फुटबल, क्रिकेटजस्ता खेल पनि रोकिन सक्ने बताइएको छ ।एलिजावेथ अलेक्जेन्ड्रा मेरी २१ अप्रिल १९२६ मा लन्डनमा राजकुमारीका रुपमा जन्मेकी थिइन् । त्यसबेला कसैले पनि उनी रानी बन्ने आशा गरेका थिएनन् किनभने उतिबेला उनी रोलक्रममा आफ्नो बुबा र काकापछि तेस्रो स्थानमा थिइन् ।
१९४७ मा उनले राजकुमार फिलिपसँग विवाह गरिन् । जो युद्धको समयमा उनका प्रेमी थिए । राजकुमार फिलिपको गत बर्ष २०२१ मा निधन भएको थियो ।
महारानी एलिजावेथ सन १९५२ मा उनका बुबा राजा जर्ज पञ्चमको मृत्युपछि उनी २५ वर्षको उमेरमा रानी भएकी थिईन । राजगद्दीमा बसेको १६ महिनापछि उनको राज्याभिषेक समारोह आयोजना गरिएको थियो । उनी कमनवेल्थ प्रमुख, बेलायती सेनाको कमान्डर–इन–चिफ, चर्च अफ इंग्ल्यान्डको सुप्रिम गर्भनरसहित ६०० भन्दा बढी संस्था र च्यारिटीको प्रमुख पनि थिइन् । अब ती सबै पदवी स्वतः उनको छोरामा सर्नेछ ।
उनका चार छोराछोरी, आठ नातिनातिना र १२ पनातिपनातिनी छन् ।
त्यस्तै महारानी एलिजावेथको शासनकालमा यूकेमा १५ जना अलगअलग प्रधानमन्त्री बने । जसमा विन्स्टन चर्चिलदेखि नवनियुक्त प्रधानमन्त्री लिज ट्रससम्म छन् । २०१५ मा उनकी जिजुबजु महारानी भिक्टोरियालाई उछिन्दै उनी बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने रानी बनिन् ।
महारानी एलिजावेथ वि.सं २०१७ सालमा पहिलो पटक आएकी थिइन्, त्यतीबेला उनले नेपालको राजकीय भ्रमणमा आएकी थिइन् । तत्कालीन राजा महेन्द्रले देशमा पञ्चायती व्यवस्था लागू गरेलगत्तै उनको नेपाल भ्रमण भएको थियो । उनको सो भ्रमणले विशेष चर्चा पाएको थियो ।
त्यस्तै बि.स. २०४३ मा पनि राजा वीरेन्द्रको निम्तामा उनी नेपाल आएकी थिइन् । उनले नेपालप्रति विशेष चासो राख्ने गरेको कूटनीतिज्ञहरु बताउँछन् ।
प्रधानमन्त्री देउवाद्वारा बेलायती महारानीको निधनप्रति दुःख व्यक्त
बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । ९६ वर्षीया एलिजाबेथको बिहीबार स्कटल्यान्डको वालमोरलमा निधन भएको थियो । प्रधानमन्त्री देउवाले रानी एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको बताएका छन् । प्रधानमन्त्री देउवाले बेलायती महारानी सन् १९६१ र सन् १९८६ मा नेपालको राजकीय भ्रमणलाई चर्चा गर्दै श्रद्धाञ्जली दिएका छन् ।
एलिजाबेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन् १९६१ मा र राजा वीरेन्द्रको राज्याभिषेकमा सन् १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन् । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनसँगै संसारभरका जनताले ठाउँ–ठाउँमा फूल चढाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । बेलायतको राजदरबार बकिङ्घम प्यालेस अगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन् ।



