सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।
अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ । लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।
कानुनी उपचारमा सहयोग गर्न क्यानसँग सन्दीपको अपिल
त्यस्तै सन्दीपले आफूविरुद्ध जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट सङ्घ (क्यान) सँग कानुनी उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । उहाँले एक १७ वर्षीया किशोरीले आफूविरुद्ध जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको हो ।
लामिछाने हाल क्यारेबियन लिग क्रिकेटका लागि वेस्ट इण्डिज पुग्नुभएकाे छ । क्यानसँगको फोन वार्तामा लामिछानेले आफूले जबरजस्ती करणी नगरेको दाबी गर्दै कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको क्यानका सचिव प्रशान्त मल्लले जानकारी दिनुभयाे । उहाँले क्रिकेटर लामिछाने प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्किने बताएको मल्लकाे भनाइ छ । फोन वार्तामा क्रिकेटर लामिछानेले कानुनी उपचारमा ‘प्रोफाइलिस्ट लयर’ खोजिदिन आग्रह गरेको बताउनुभयो ।
उहाँले यस बारेमा आईसीसीले पनि चासो दिएको उल्लेख गर्नुभयो ।आईसीसीलाई यस बारेमा जानकारी गराएको र आईसीसी गम्भीर रहेको उहाँकाे भनाइ छ। उहाँले नेपाल प्रहरीले क्रिकेटरले जबरजस्ती करणी गरेको बारेमा क्यानसँग अहिलेसम्म कुनै सहयोग नमागेकोसमेत बताउनुभएको छ । गलत काम गरेको खण्डमा क्यानले गलत कामको समर्थन नगर्ने उहाँकाे भनाइ छ ।
क्यानको तर्फबाट सचिव मल्लले क्रिकेटर लामिछानेसँग बुधबार राति घटनाको बारेमा जानकारी लिनुभएको थियो । जसमा क्रिकेटरले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको उल्लेख गरेको क्यानले जनाएको छ । एक १७ वर्षीया किशाेरीले आफूलाई क्रिकेटरले जबरजस्ती करणी गरेको भन्दै मङ्गलबार बलात्कारको उजुरी दर्ता गरेकी छन् ।
सन्दीपमाथि लागेको आरोपबारे आईसीसीको पनि चासो
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कारको आरोपबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले चासो देखाएको छ । लामिछोनेविरुद्ध एक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । नेपाली क्रिकेट टिम केन्या भ्रमणमा जानु अघिल्लो रात ५ भदौमा सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको पीडित किशोरीको जाहेरीमा उल्लेख छ ।
क्रिकेट संघका सचिव प्रशान्त विक्रम मल्लका अनुसार यो जाहेरीबारे सन्दीपसँग कुराकानी भएको थियो । उनले जाहेरी परेको थाहा पाएको, तर आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
कानुनी उपचारका लागि सन्दीपले सहयोग मागेको भन्दै क्यान सचिव मल्लले भने, ‘तिमी त फर्किनुपर्ने होला भन्दा म सीपीएल (क्यारेबियन प्रिमियर लिग) भ्याएरै फर्किन्छु भनेको छ ।’ उनका अनुसार नेपालमा लागेको अभियोगबारे सीपीएल टिमले पनि जानकारी पाएको छ र, खेलका लागि अप्ठ्यारो नपर्ने बताएको छ ।
तर आईसीसीले भने सन्दीपविरुद्ध परेको जाहेरीबारे चासो राखेको छ । ‘आईसीसीले के हुनसक्छ यो केसमा भनेर चासो राखेको छ’, आफूले सबै जानकारी दिएको भन्दै सचिव मल्लले भने, ‘रेप केसमा गएको भनेपछि उनीहरु सिरियस भएका छन् ।’
उनका अनुसार क्रिकेट संघ खेलाडीहरुको अभिभावक भएकाले सन्दीपको मागअनुसार कानुन व्यवसायी खोज्न सहजीकरण गर्नेछ । अपराध गरेको छ भने ढाकछोप र बचाउ नगर्ने क्यानको अडान रहेको भन्दै सचिव मल्लले भने, ‘अपराधी नै हो भने पनि कानुनी उपचार उसको अधिकार हो । क्यान अभिभावक भएकाले लयर खोज्न सहजीकरण गरिदिन्छ ।’