किरण चेम्जुङ र पलेशा गोबर्धन उत्कृष्ट खेलाडी पुरुस्कार

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५९ औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई वर्षका उत्कृष्ट खेलाडी (सिनियर) को पुरस्कार प्रदान गरेको छ । किरणले पुरुष र पलेशाले महिलातर्फ अवार्ड जितेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५९ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालगायतबाट सम्मानित खेलाडी र कर्मचारी । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

चेम्जोङको नेतृत्वमा गत वर्ष नेपालले थ्री नेसन्स कपको उपाधि जितेको थियो । उनी पछिल्लो सिजन माजियाबाट माल्दिभ्सको धिवेही प्रिमियर लिग र एफए कप जितेपछि भारतको आई लिग क्लब पञ्जाबमा अनुबन्धित भएका छन् । टोकियो पारा ओलम्पिकमा दुई बाउट जितेर क्वाटरफाइनल पुगेकी पलेशाले एसियन युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् ।

टेबलटेनिसकी इभाना थापा र एथलेटिक्सका सन्दीप थारूले जुनियरतर्फ वर्षका उत्कृष्ट खेलाडीको अवार्ड हात पारे । द हिमालयन टाइम्सका महेश आचार्य र राष्ट्रिय समाचार समितिकी मुनाकुमारी कार्की उत्कृष्ट खेल पत्रकारबाट पुरस्कृत भए । ट्रायथलन संघले उत्कृष्ट संघ र कामारु ट्रेडिङ प्रालिले उत्कृष्ट खेल सामग्री उत्पादकको पुरस्कार जिते । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राखेपका उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गरिएको थियो ।

प्रशासन र प्राविधकितर्फ ६ कर्मचारी पुरस्कृत भए । सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा डिल्लीराम काफ्ले र प्राविधिकमा उसुका प्रकाश महर्जन, उत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा दीपा बाँस्तोला र प्राविधिकमा भारोत्तोलनका जीवन गौतम तथा परिषद् सेवा पुरस्कारको प्रशासनमा अर्जुनबहादुर कार्की र प्राविधिकमा जिम्न्यास्टिककी सजनी मानन्धर पुरस्कृत भए । राखेपमा करार सेवामा कार्यरत कर्मचारीतर्फ केशव खरेल सम्मानित भए ।